एमाले ओखलढुङ्गाका पूर्व अध्यक्ष शंकर कटवाल पुनः सक्रिय, चुनावी अभियानमा फर्किने घोषणा


ओखलढुङ्गा ।

नेकपा (एमाले) ओखलढुङ्गाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवाल पुनः पार्टीको जिम्मेवारीमा सक्रिय भएका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेको अवस्थामा जिम्मेवार सदस्यका रूपमा चुप लागेर बस्न नसक्ने बताउँदै उनले पार्टी अभियानमा फर्किएको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कटवालले आफू २०४३ सालदेखि तत्कालीन नेकपा (माले) निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेको उल्लेख गरेका छन्। २०४७ सालपछि पार्टीका विभिन्न मोर्चामा रहेर काम गरेको र ओखलढुङ्गा जिल्ला अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेको उनले स्मरण गरेका छन्।

पार्टीभित्र बढ्दै गएको विकृति–विसंगति, अवसरवादी र हैकमवादी प्रवृत्तिका कारण जिल्लामा एमाले कमजोर बन्दै गएको कठिन परिस्थितिमा समेत आफू पार्टी काममा खटिएको कटवालको भनाइ छ। १०औँ जिल्ला अधिवेशनका क्रममा उम्मेदवार नबनेको र कुनै पदको बार्गेनिङ नगरी नेतृत्व हस्तान्तरणको तयारीमै रहेको भए पनि अधिवेशनपछि अधिकार कुण्ठित गर्ने, दबाबमूलक आदेश दिने तथा आरोप–प्रत्यारोप गर्ने प्रवृत्ति बढेपछि जिल्ला कमिटीबाट राजीनामा दिएर केही समय निष्क्रिय बस्नुपरेको उनले बताएका छन्।

तर अहिले देश निर्वाचनमा होमिएको, पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको र यस्तो अवस्थामा पार्टीभित्रैबाट घात भइरहेको अनुभूति भएपछि जिम्मेवार सदस्यको हैसियतले पुनः पार्टी काममा फर्किएको कटवालले उल्लेख गरेका छन्। कटवालले नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा ओखलढुङ्गाका मतदातालाई एकताबद्ध भएर वर्तमान चुनौतीको सामना गर्न आह्वान गरेका छन्। साथै प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।

उनले आरोप–प्रत्यारोप, गाली–गलौज तथा अराजनीतिक र असहिष्णु शैली त्याग्न पनि सबैलाई अनुरोध गरेका छन्। हाल बुबाको उपचारका लागि काठमाडौँमा रहेका कटवालले जिल्ला फर्किएपछि पार्टी संगठन र निर्वाचन परिचालनको काममा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्। २०८० सालमै जिल्ला अधिवेशनपछि राजीनामा दिएर निष्क्रिय रहेका कटवाल, जिल्ला कमिटीका अध्यक्षसहित पदाधिकारीहरू अन्य पार्टीमा प्रवेश गरेपछि पुनः एमालेमा सक्रिय हुने निर्णयमा पुगेका हुन्।