लमजुङ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङमा मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । निर्वाचन कार्यतालिका अनुसार तोकिएको समयमा मनोनयन फिर्ता नपरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले शुक्रवार १२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
साथै, शुक्रवार नै एक जना स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मध्यनेपाल–१, जिताका सन्तोष घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले निर्वाचन चिन्हका रुपमा ‘केबलकार’ लिएका छन् । जिल्लामा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिने उनी एक मात्र उम्मेदवार हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने समय निर्धारण गरिएको थियो । तर, कुनै पनि उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भन्दै कुनै उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्धारित समयमा उजुरी नपरेपछि तथा आवश्यक छानबिन सम्पन्न गरेपछि पहिलो चरणमा कायम भएका उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको थियो ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट गरी जम्मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभा सदस्य पदका लागि नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापती मगजु, नेकपा (माओवादी)बाट रविन्द्र नखोला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मराज केसी, नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ, नेशनल रिपब्लिक नेपालबाट भरत गुरुङको उम्मेदवारी परेको छ ।
त्यसैगरी नेपाली काँग्रेसबाट गमप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केविन्द्र गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट हरिजङ तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट विकास गुरुङ, श्रम संस्कृति पार्टीबाट कोषलाल गुरुङ र जनादेश पार्टी नेपालबाट मिलन बास्कोटा उम्मेदवार रहेका छन् ।











प्रतिक्रिया