खोटाङ।
खोटाङका राजनीतिक दल तथा उम्मेदवारहरु चुनावी अभियानमा होमिएका छन् । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि कोही घरदैलो, कोही पत्रकार सम्मेलन गर्नमा व्यस्त देखिएका छन् ।
दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवारको मनोनयन दर्ता भए लगत्तै जिल्लामा चुनावी माहोल तातिएको हो । बुधवार बिहानैदेखि दिक्तेलबजारमा घरदैलो अभियानमार्फत मत माग्न थालेको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार पत्रकार सम्मेलनमार्फत पार्टीको निर्णय र चुनावी कार्यक्रम तालिका सार्बजानिक गरेको छ ।

नेकपाका उम्मेदवार डा. हरि रोकाले पूर्व सांसदहरु टंक राई, कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वउर्जा, जलश्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेशकै पूर्वसामाजिक विकासमन्त्री राजन राईसहित अभियान थालेका हुन् ।
यस्तै, बुधवार बिहानै श्रम संस्कृति पार्टीले पत्रकार सम्मेलनमार्फत आफ्नो नीति तथा कार्य योजनाहरु सार्बजानिक गर्दै अभियान अघि बढाएको छ । श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष प्रताप राईसहित उम्मेदवार आरेन राईले आफ्नो नीति तथा कार्ययोजनाबारे प्रष्ट पार्दै अभियान अघि बढाएको हो ।

बुधवार नै नेपाली कांग्रेसले पनि बुधवार निर्बाचन लक्षित पाँच बुँदे अवधारणापत्र सार्बजानिक गर्दै पत्रकार सममेलन गरेको छ । बीपी स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला उपसभापति तीर्थराज भट्टराईले निर्बाचनलाई शान्तिपुर्ण, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गर्न सबै सरोकारवाला निकाय, राजनीतिक दल र उम्मेदवारले संयमाता अपनाउनुपर्नेमा जोड दिए । कांगे्रसको तर्फबाट वीरकाजी राई उम्मेदवार बनेका छन् । जिल्लाका अन्य दल तथा उम्मेदवारहरुले पनि पत्रकार सम्मेलन तथा चुनावी गतिबिधिलाई अघि बढाईरहेका छन् ।

जिल्लाबाट नेपाली कांग्रेसका वीरकाजी राई, नेकपा एमालेका देवबिक्रम राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट डा. हरि रोका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङले मनोनयन दर्ता गराएका छन् ।
जिल्लामा श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राईको उम्मेदवारी दर्ता भएको छ । निर्वाचनको लागि मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्बाचनतर्फ एक मात्र निर्बाचन क्षेत्र रहेको जिल्लाबाट डा.राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
आगामी निर्वाचनका लागि जिल्लामा १ सय ३६ वटा मतदानस्थल तथा १ सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १ सय २० जना मतदाता कायम भएको छ ।











प्रतिक्रिया