काठमाडौं।
सरकारले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को कार्यकारी निर्देशकमा डा. अनुप बास्तोलालाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. बास्तोलालाई सो जिम्मेवारी दिएकी हुन्।
निर्वाचन आचारसंहिता लागू हुनुभन्दा ठीक एक दिन अगाडि यो नियुक्ति प्रक्रिया टुंगो लगाइएको मन्त्रालय स्रोतले जनाएको छ। निर्णय माघ ४ गते नै भए पनि नियुक्ति पत्र भने केही ढिला गरी तयार पारिएको थियो। मन्त्रालयका एक अधिकारीका अनुसार, “आचारसंहिता लाग्नु अगावै निर्णय भएको हो, प्रशासनिक प्रक्रियाका कारण पत्र हिजो मात्रै जारी भएको हो।”
यसअघि टेकु अस्पतालको निर्देशकको भूमिकामा डा. युवानिधि बसौला कार्यरत थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डा. बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेसँगै टेकुमा निर्देशक पद रिक्त भएको थियो। डा. बसौलाको सरुवा र डा. बास्तोलाको नियुक्तिको तालमेल मिलाएर स्वास्थ्य मन्त्रालयले यो नयाँ कार्यविभाजन गरेको हो।
डा. अनुप बास्तोला नेपालमा कोभिड–१९ को महामारी फैलिएका बेला टेकु अस्पतालको निर्देशकका रूपमा चर्चामा आएका थिए। महामारीको उच्च जोखिमका बेला अस्पतालको व्यवस्थापन र बिरामीको उपचारमा उनले खेलेको नेतृत्वदायी भूमिकालाई उच्च मूल्यांकन गरिन्छ। टेकुबाट हटेपछि उनी स्वास्थ्य सेवा विभागका विभिन्न निकाय र स्वास्थ्य मन्त्रालयमा महत्वपूर्ण जिम्मेवारीमा रहेका थिए।
संक्रामक रोग विशेषज्ञका रूपमा चिनिने डा. बास्तोलाको पुनरागमनसँगै टेकु अस्पतालको सेवा प्रवाह र आगामी दिनमा आउन सक्ने सरुवा रोगको चुनौती सामना गर्न थप सहज हुने विश्वास लिइएको छ। टेकु अस्पताल नेपालको एकमात्र केन्द्रीय स्तरको सरुवा रोग अस्पताल हो, जहाँ एचआईभी, रेबिज, डेंगु र कोभिड जस्ता रोगहरूको विशिष्ट उपचार हुने गर्दछ।
अस्पतालको आन्तरिक व्यवस्थापन सुधार र सेवा विस्तार डा. बास्तोलाका लागि आगामी मुख्य चुनौती र अवसरका रूपमा हेरिएको छ। नवनियुक्त निर्देशक डा. बास्तोलाले छिट्टै कार्यभार सम्हाल्ने तयारी गरेका छन्।











प्रतिक्रिया