पूर्वराजा ज्ञानेन्द्रको जनकपुर भ्रमण अर्थपूर्ण

1.22k
Shares

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जानुहुने भएको छ । उहाँ ११ गते जनकपुर जाने कार्यक्रम तय भएको छ । आन्तरिक रूपमा हिन्दुराज्य र राजतन्त्रको माहोल बनाउन सुरु गर्नुभएको पूर्वराजा ज्ञानेन्द्र धार्मिक भ्रमणको नाममा जनकपुर जान लाग्नुभएको हो । मुलुक निर्वाचनमा होमिएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र जनकपुर जानु अर्थपूर्ण रूपमा हेरिएको छ । नेपालमा चुनावी माहोल बनेपछि उहाँको भारत भ्रमण तत्काल रोकिएको छ ।

उच्चस्रोतका अनुसार रोकिएको भनिएको छ, सुटुक्क कुन दिन जाने हो, निर्णय भएको छैन । यही माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह रास्वपाको चुनावी सभामा पुग्दा पूर्व युवराज पारस शाहले भेट गर्नुभएको थियो । केही दिनदेखि पारस शाह पनि जनकपुरमै हुनुहुन्छ । पछिल्लो एक महिनायता पारस र ज्ञानेन्द्र झापामा सँगसँगै रहनुभएको छ ।

‘जनकपुरलगायत मधेसको चुनावी अवस्था बुझ्न ज्ञानेन्द्र शाह एकाएक जनकपुर हुँदै गोरखपुर जाने कार्यक्रम तय भएको थियो । केही दिनका लागि भारतको गोरखपुरको कार्यक्रम रोकिएको छ । तैपनि गोरखपुर जानसक्ने सम्भावना रोकिएको छैन’ –उच्च स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमण गर्दा कहिले जनकपुर त कहिले काँकडभिट्टा नाका प्रयोग गर्ने गर्नुभएको छ । यसपालि जनकपुर हँुदै लखनउ जाने कार्यक्रम तय भएको थियो, नेपालमा बढी हल्लीखल्ली भएकोले गोप्य राखिएको छ ।

‘जनकपुर भ्रमणको क्रममा १२ गते सोमवार जानकी र राममन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । यही १३ गते जनकपुरमा आराम गर्नुहुन्छ, १४ गते फेरि झापा फर्कनुहुन्छ’ –स्रोतले भन्यो । जानकी मन्दिरमा पूर्वयुवराज पारस, बुहारी हिमानी, छोरी प्रेरणा, पारस पुत्रीद्वय कीर्तिका र पूर्णिका, धीरेन्द्रपुत्रीलगायत पूर्वराजाका परिवारले पूजाअर्चना गर्ने कार्यक्रम छ ।

जनकपुर बसाइ होटल सोल्टीमा हुनेछ । उक्त होटलमा ज्ञानेन्द्रको स्वामित्व छ । जनकपुरमा १३ गते आराम गर्ने भनिएपछि राजनीतिक भेटघाट हुनसक्ने कार्यक्रम छ । जनकपुरमै रहनुभएका पूर्वयुवराज पारसले विभिन्न व्यक्तिसँग भेटघाटको चाँजोपाँजो मिलाइरहनुभएको छ । चुनावमा आफ्नो एजेन्डा स्थापित गर्न पूर्वराजाले तराईबाट चलखेल सुरु गर्नुहुने स्रोतले बताएको छ । विशेषगरी बालेन्द्र र रास्वपा, स्थानीय राजावादीका नेता तथा कार्यकर्तासँग भेट गर्ने कार्यक्रम रहेको छ । पूर्ण रूपमा धार्मिक भनिए पनि राजनीतिक भेटघाट हुनेगरी समय तय गरिएको छ ।

जनकपुर जानु केही दिनअघि निजी सचिव सागर तिमल्सिना र उहाँको निजी सुरक्षाकर्मीले जनकपुरको सुरक्षा अवस्थाबारे रेकी गरेको थियो । २ र ३ गते रेकी गरेर फर्किएपछि जनकपुर भ्रमणको कार्यक्रम तय भएको हो ।

नेपाली राजनीतिमा जेन–जी आन्दोलनपछि केही जेन–जी पुस्ताले नेपालमा राजतन्त्र र हिन्दुराज्य ल्याउने पहल गरिरहेका छन् । सोही मेसोमा पूर्वराजा झापा बसेर फागुन २१ गते हुने निर्वाचनमा मधेसको राजनीतिक अवस्था बुझिरहनुभएको छ । सोही आधारमा उहाँ जनकपुर जान लाग्नुभएको हो ।