खोटाङबाट १५ उम्मेदवार, महिला शून्य : पुरानै दलबीच प्रतिस्पर्धा

658
Shares

खोटाङ। 

 आगामी फागुन–२१ गतेको लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता हुँदा महिला उम्मेदवार शून्य रहेको छ ।  प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुनै पनि दल तथा स्वतन्त्रतर्फबाट महिला उम्मेदवार नभएका हुन् ।

जिल्लामा दुई जना स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जनाए । १३ दलका तर्फबाट महिला उम्मेदवारलाई अघि नबढाएको पाइएको छ । समानुपातिकतर्फको उम्मेदवारमा पनि महिलालाई अपेक्षित स्थानमा नराखिएको दल निकट कार्यकर्ताहरु बताउँछन् ।

जिल्लाबाट नेपाली कांग्रेसका वीरकाजी राई, नेकपा एमालेका देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि रोका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरीले उम्मेदवारी दर्ता गराएका छन् । दिक्तेलबजारको जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङले मनोनयन दर्ता गराएका छन्।

यस्तै, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राईको उम्मेदवारी दर्ता भएको छ । निर्वाचनको लागि मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत पराजुलीले जनाए ।

दश स्थानीय तह रहेको जिल्लाबाट डा.राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जनाइएको छ । स्वतन्त उम्मेदवारी दर्ता गराएका डा. राई नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेलगत्तै जिल्ला सभापतिमा पराजित भएका थिए ।

आगामी निर्वाचनका लागि जिल्लामा १ सय ३६ वटा मतदानस्थल तथा १ सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १ सय २० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताए ।

जिल्लामा हुने यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा पूरानै राजनीतिक दलका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । २०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ बिजयी भएका थिए ।

२०७९ सालमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २४ हजार २ सय ७१ मत प्राप्त गरेको थियो । यस्तै, नेपाली कांग्रेसले १८ हजार ६ सय ७२, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले ११ हजार ८ सय ४५, नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३६, जनता समाजवादी पार्टीले दुई हजार २ सय ४८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक हजार ४ सय ९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २ सय ५५ मत ल्याएको थियो ।

यो निर्वाचनमा थप नयाँ लगायतका दल तथा दुई स्वतन्त्र उम्मेदवार समेतले सहभागी जनाउने भएका छन् ।।