मुगुमा ७ दलको मनोनयन दर्ता


मुगु।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आज देशभर मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । सोही क्रममा मुगु जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले शक्ति प्रदर्शनसहित मनोनयन दर्ता गराएका छन् ।

आगामी निर्वाचनका लागि मुगुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी प्रगतिशील लोकतान्त्रिक पार्टीसहित ७ वटा राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थितिमा बाजागाजासहित उम्मेदवारहरूले मनोनयन दर्ता गराउँदै आ–आफ्ना राजनीतिक एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरेका थिए । मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उम्मेदवार खडक बहादुर शाहीले भदौ २३ र २४ गतेको आन्दोलनपछि देशले परिवर्तन खोजेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरण, समावेशिता र दिगो विकास आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार पूर्ण बहादुर रोकायाले जिल्लाको समग्र विकास, सुशासन र राजनीतिक स्थायित्व आफ्नो मुख्य एजेन्डा रहेको दाबी गरे । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले लोकतन्त्रको संरक्षण, समावेशी विकास र जनजीविकाको सुधारलाई आफ्नो प्रमुख मुद्दा बनाएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुवन टमाटाले सुशासन, पारदर्शिता र पुरानो राजनीतिक प्रवृत्तिको अन्त्य आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् । यसैबीच, अन्य दलका उम्मेदवारहरूले पनि परिवर्तन, सामाजिक न्याय, किसान–मजदुरको हकहित तथा युवाको भविष्य सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
मुख्य निर्वाचन अधिकृत माननीय न्यायाधीश मिन बहादुर कुँवरले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण र कानुनअनुसार सम्पन्न भएको जानकारी दिँदै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराइने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन कार्यालयका अनुसार मुगु जिल्लामा ३६ हजार ३१ जना मतदाता रहेका छन् । चारवटा स्थानीय तह रहेको मुगुमा ६७ मतदान स्थल र ७९ मतदान केन्द्र तोकिएका छन् । अब फागुन २१ गते हुने निर्वाचनले मुगु जिल्लाको राजनीतिक भविष्य कसको हातमा सुम्पिन्छ भन्ने निर्णय मतपेटिकामार्फत हुने छ ।