विराटनगर
मोरङका ६ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेता कोइरालाले मंगलबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनु भएको हो ।
उम्मेदवारी दर्ताका क्रममा कोइरालाको साथमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि पार्टीभित्रको टिकट वितरण र उम्मेदवार चयनप्रति असन्तुष्टि पोख्नु भयो । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले पार्टीले पुराना अनुहारलाई नै दोहो¥याएको र टिकट वितरणमा न्याय नभएको भन्ने प्रश्नको जवाफ दिँदै भन्नुभयो, ‘उम्मेदवारको नाम किन दोहोरियो र कसले पायो भन्ने कुरा टिकट दिने साथीहरूलाई सोध्नुस्, मलाई सोधेर हुँदैन।’ उहाँले टिकट वितरण प्रक्रियामा आफ्नो पूर्ण सहमति नरहेको वा आफूले टिकट नबाँडेको संकेत गर्दै यस्तो टिप्पणी गर्नुभएको हो ।
पत्रकारहरूले पार्टीभित्रको पुस्तान्तरण र आगामी प्रधानमन्त्रीको उम्मेदवारका बारेमा सोधेको प्रश्नमा डा. कोइराला केही आक्रामक देखिनु भयो । उहाँले गगन थापा प्रधानमन्त्रीको उम्मेदवार हुने चर्चाका बारेमा भन्नुभयो, ‘त्यो त पार्लियामेन्ट्री बोर्ड र पार्टीले गर्ने निर्णय हो, अहिले नै हतार किन।’ उहाँले पत्रकारहरूलाई थप प्रश्न नगर्न आग्रह गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेसलाई जिताउने हो भने यस्ता वाइयात कुराहरू नगर्नुस्, राम्रा कुराहरू गर्नुस्।’ कुराकानीका क्रममा डा. कोइरालाले आफूसँगै रहेकी पार्टीकी सह–महामन्त्री डिला संग्रौलालाई देखाउँदै भन्नुभयो, ‘यहाँ सह–महामन्त्री हुनुहुन्छ, अनि किन चिन्ता गर्नुहुन्छ ?’ उहाँले अहिलेको मुख्य ध्यान निर्वाचन जित्नुमा रहेको भन्दै आन्तरिक विवाद र प्रधानमन्त्रीको दौडका बारेमा धेरै चर्चा नगर्न आग्रह गर्नुभयो ।
यस्तै मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेतृ रुविना आचार्यलाई चुनावी मैदानमा उतारेको छ। आचार्यले मंगलबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका लागि आफ्नो मनोनयन दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ताका लागि आचार्य रास्वपाका नेता तथा कार्यकर्ताहरूको ¥यालीसहित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो । ‘हेभीवेट’ नेताहरू भिड्ने यस क्षेत्रमा रास्वपाबाट आचार्यको इन्ट्रीले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले मोरङ ६ का जनताले यसपटक परिवर्तन खोजेको र आफूले युवा तथा वैकल्पिक राजनीतिको प्रतिनिधित्व गर्ने बताउनु भयो । उहाँले पुराना दल र नेताहरूको विकल्पमा रास्वपालाई जनताले रोज्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै मजदुर नेता ओपेन्द्र रायले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेपका) का तर्फबाट उहाँले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनु भएको हो । दिउँसो साढे १ बजे विराटनगरको देवकोटा चोकस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर रायले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रायले सुशासन र विकास नै आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो । यिनै मुद्दाहरूलाई प्राथमिकतामा राखेकाले यसपटक चुनाव जित्नेमा आफू ढुक्क रहेको उहाँले दाबी गर्नुभयो । सोही क्षेत्रबाट एमालेका विनोद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै मोरङ क्षेत्र नम्बर ५ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । प्रमुख राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र गरी कुल २१ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । यस क्षेत्रमा यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका योगेन्द्र मण्डलले यसपटक आफ्नै नेतृत्वको नयाँ दलबाट उम्मेदवारी दिनु भएको छ । उहाँले राष्ट्रिय ऊर्जाशील पार्टी गठन गरी सोही पार्टीको तर्फबाट दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराउनु भएको हो । यस्तै, प्रमुख सत्तारुढ र प्रतिपक्षी दलहरूले पनि आफ्ना प्रभावशाली उम्मेदवारहरू मैदानमा उतारेका छन् । नेपाली कांग्रेसका तर्फबाट फुलकुमार लालवानी, नेकपा (एमाले) बाट मनोज अग्रवाल, र नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकुमार यादव पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् । नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशा झालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुमोद रायले मनोनयन दर्ता गराएका छन् । दलीय उम्मेदवारबाहेक यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको पनि बाक्लो उपस्थिति देखिएको छ । स्वतन्त्रबाट अमर कुमार यादव, मो. रेजा हुसैन, विकास श्रेष्ठ, र ममता यादव लगायतले उम्मेदवारी दिएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) ले झण्डै एक दशकपछि आफ्नो आधिकारिक उम्मेदवार चुनावी मैदानमा उतारेको छ। एमालेका तर्फबाट उम्मेदवार बनेका मनोज अग्रवालले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मोदीले यस क्षेत्रको विकास र जनताको अधिकार सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट जीवन घिमिरे र नेपाली कांग्रेसका तर्फबाट गुरु घिमिरेले उम्मेदवारी दिनु भएको छ।

यहाँ त्रीपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । पूर्वमन्त्री मोदी यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित हुनु भएको थियो भने जीवन घिमिरे कोशी प्रदेशका पूर्वमन्त्री हुनुहुन्छ । उता, युवा नेता गुरु घिमिरे काँग्रेसको महामन्त्री हुनुहुन्छ । महामन्त्री गुरु घिमिरेले निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराउनु भएको छ। मोरङका १, २ र ३ नम्बर क्षेत्रमा पनि उत्साहजन रुपमा मनोनयन सम्पन्न भएको छ । काग्रेसका सुनिल शर्मा र रास्वपाका गणेश कार्कीको उम्मेदवारी परेको मोरङ ३ मा रोचक प्रतिस्पर्धा हुने अनुमान छ । यस्तै २ मा एमालेका दिलीप बगडिया, काग्रेसमा डा मिनेन्द्र रिजाल र रास्वपाका कृष्ण कार्कीबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।











प्रतिक्रिया