हेटौंडा ।
मकवानपुरमा उम्मेदवारी दर्ता उल्लासपूर्वक भएको छ । आफूले पाएको समयअनुसार दलहरू दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
मकवानपुर निर्वाचन क्षेत्र–१ मा २३ जना उम्मेदवार छन् । जसमा १३ जना दलीय र १० जना स्वतन्त्र । मकवानपुर क्षेत्र–२ मा २१ जना उम्मेदवार रहेकोमा १६ जना दलीय र ५ स्वतन्त्रसहित कुल ४४ जना प्रतिस्पर्धामा छन् ।

नेपाली काँग्रेसका तर्फबाट मकवानपुर क्षेत्र–१ मा महालक्ष्मी उपाध्याय डीना र क्षेत्र–२ बाट बुद्ध लामाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर दुवैले मनोनयनपत्र दर्ता गराएका हुन् । क्षेत्र–२ बाट उम्मेदवारी दर्ता गराएका लामा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति हुन भने क्षेत्र–१ की उम्मेदवार उपाध्याय कांग्रेसकी पूर्वसहमहामन्त्री हुन ।
२०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह मकवानपुर प्रतिनिधिसभा–१ मा निर्वाचित भएका थिए । सिंह २ हजार ३ सय ९३ मत अन्तरसहित निर्वाचित भएका हुन् । उनले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री डीनाले २५ हजार ४ सय ३४ मत प्राप्त गरेकी थिइन् । पार्टी संगठन सुदृढीकरण, महिला अधिकार र समावेशी लोकतन्त्रका विषयमा निरन्तर आवाज उठाउँदै आएकी डीनालाई कांग्रेसले पुनः विश्वास गरेर उम्मेदवार बनाएको हो । समयदेखि पार्टी संगठनमा क्रियाशील रहँदै आएका लामा स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभव भएका नेता मानिन्छन ।

नेकपा एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४ सय २० मत प्राप्त गर्दै तेस्रो भएका थिए । यस पटक भने थापा राप्रपाबाट काठमाडौं–५ मा पुगेका छन् । पटकपटक हार ब्यहोरेका सिंहले २०७९ मा भने राजनीतिका दिग्गज खेलाडी थापा र गठबन्धनका बलियो उम्मेदवार डीनालाई हराउँदै संसद्को पहिलो यात्रा तय गरेका थिए । थापाले आठौं चुनावका लागि गृहजिल्ला मकवानपुर छाडेर काठमाडौंलाई रोजेका हुन् ।
३५ वर्षयता थापा पहिलोपटक मकवानपुरबाट उम्मेदवार बनेनन । २०५१ को मध्यावधि निर्वाचन जितेयताका ३१ वर्षसम्म थापा गृहजिल्ला मकवानपुरबाट निरन्तर पराजित बनिरहेका थिए । लामो समयपछि मकवानपुरे जनताले थापा मत माग्दै आफ्नो घरदैलोमा आएको देख्न पाउने छैनन् ।
केन्द्रमा नयाँ सत्तासमीकरण बनेसँगै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा सिंह सरकारबाट बाहिरिएका थिए । सिंह नेकपा माओवादी केन्द्र नेतृत्वको संघीय सरकारमा ऊर्जा, जलस्रोत तथा सिचाईं राज्यमन्त्री बनेका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका मेयरमा झिनो मतले पराजित भएपछि सिंहको लोकप्रियता बढेको थियो । ६७ वर्षीय सिंह २०५४ सालमा हेटौंडा नगरपालिका मयेरमा नेकपा एमालेका डोरमणि पौडेलसँग १ हजार २ सय मत अन्तरले पराजित भएका थिए । २०५६ मा मकवानपुर प्रतिनिधिसभा–२ मा उनी एमालेका विरोध खतिवडासँग १ हजार २ सय मतअन्तरले हरेका थिए ।
मकवानपुर क्षेत्र नम्बर–१ बाट एमालेका रामेश्वर रानाले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा गोपालप्रसाद दाहाल र समर्थकमा इन्द्रमान स्यांतान छन्। मकवानपुर–२ का लागि पूर्वसांसद् महेश बर्तौलाले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा राजाराम स्यांतान र समर्थकमा सुवासचन्द्र ठकुरी छन् ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर बिष्टले मनोनयन दर्ता गरेका छन् । गौतम पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका छन् । विद्यार्थी राजनीति र आन्दोलनबाट उदाएका गौतम नेकपा नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा स्वकीय सचिवका रुपमा कार्यरत थिए । बकैया गाउँपालिका निवासी गौतम तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्जसमेत रहिसकेका छन् ।
यस क्षेत्रमा नेकपाको संगठनात्मक उपस्थिति बागमती र बकैया गाउँपालिकामा राम्रो देखिन्छ भने हेटौंडा बजार क्षेत्रमा केही कमजोर रहेको बताइन्छ । मकवानपुर–२ मा उम्मेदवार बिष्ट रुपचन्द्र बिष्ट ‘रुदाने’ का अनुयायीका रुपमा चिनिनछन् । उनी २०७४ सालमा थाहा नगरपालिका मेयर निर्वाचित भएका थिए । मेयर रहँदा उनले गरेका विकास निर्माण र सेवाप्रवाहसम्बन्धी कामको चर्चा हाल पनि जिल्लामा हुने गरेको छ ।
मकवानपुर–२ अन्तर्गत थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकामा नेकपाको उपस्थिति बलियो मानिन्छ । मनहरी, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा भने पार्टीको प्रभाव तुलनात्मकरुपमा कमजोर देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रकाश गौतमले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा टाकाराज थापा र समर्थकमा ध्रुवबहादुर बिष्ट छन् । मकवानपुर–२ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा सञ्जीव पाठक र समर्थक शान्ति थापाबिडारी छन् ।
मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेजप्रसाद उप्रेती (रमेश) ले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावक राजेन्द्र सिंखडा र समर्थक केदार अधिकारी छन् । मकवानपुर क्षेत्र नम्बर–२ बाट सन्तोष बिष्टले उम्मेदवारी दर्ता गराउँदा उनको प्रस्तावक विष्णुहरि ढकाल र समर्थक प्रलोक पाण्डे रहेका छन् । पाण्डे लामो समय पुष्पकमल दाहाल (प्रचण्ड) को दाहिने हातजस्तै उनको सुरक्षामा खटिएका कमाण्डर युवा हुन।

प्रतिनिधिसभा निर्वाचनका लागि श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा कुलमान घिसिङ पार्टीको केन्द्रीय सदस्य त्यागेकी विद्या श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छन्। हेटौंडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध रहेकी श्रेष्ठको उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रवीणकुमार रजक छन् । मकवानपुर–२ बाट युनिश लामाले उम्मेदवारी दर्ता गर्दा प्रस्तावकमा रुद्रबहादुर मुक्तान र शिवबहादुर केसीको समर्थन थियो ।











प्रतिक्रिया