लमजुङ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङमा राजनीतिक सरगर्मी बढेको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १२ जना उम्मेदवारले औपचारिक रुपमा मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले) उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका जिल्ला सदस्य गमप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय संगठन विभाग सदस्य धर्मराज केसी, नेकपाका तर्फबाट तत्कालीन माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य हरिजङ तामाङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष केविन्द्रजङ गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता प्रक्रियामा सबैभन्दा पहिले नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजुले उम्मेदवारी दर्ता गराएकी थिइन् । त्यसपछि सन्तोष घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने नेकपा (माओवादी) का रवीन्द्र नखोलाले पनि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसै गरी, नेसनल रिपब्लिक नेपालबाट भरत गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनबाट विकास गुरुङ, श्रम संस्कृति पार्टीबाट कोषलाल गुरुङ र जनादेश पार्टीबाट मिलन बास्कोटाले उम्मेदवारी दर्ता गराउँदै कुल उम्मेदवार संख्या १२ पुगेको सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले जानकारी दिए ।

गौतमका अनुसार छ वटा दलका उम्मेदवारका लागि बिहान साढे १२ बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरिएको थियो । मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन गरिएको थियो । तोकिएको तालिका अनुसार सुरुमा रास्वपाको र अन्त्यमा कांग्रेस उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो ।











प्रतिक्रिया