निर्वाचन तयारीबारे गृहमन्त्री र आयोगबीच छलफल


काठमाडौँ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ। आयोगको बहादुर भवनस्थित कार्यालयमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनसम्बन्धी काम नियमित रूपमा अघि बढिरहेको जानकारी गराए।

उनका अनुसार निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् र कुल तयारीमध्ये ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीसमेत अन्तिम चरणमा पुगेको जनाएको छ। निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सूक्ष्म अनुगमन गरिने पनि आयोगले स्पष्ट पारेको छ।

गृहमन्त्री अर्यालले निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित रूपमा सम्पन्न गर्न मन्त्रालय र आयोगबीच समन्वयमा सहकार्य गरिने बताए। उनले मतदानदेखि मतगणनासम्म एकीकृत सुरक्षा योजनाअनुसार सरकारले पूर्ण सुरक्षा प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गरे।