सुरु भयो एन्फा राष्ट्रिय लिग : ए डिभिजन विजेता चर्च बराबरीमा रोकियो


काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमिति रूपमा ए डिभिजन लिग आयोजना गर्न नसकेपनि राष्ट्रिय लिग सुरु गरेको छ । बुधबारदेखि सुरु भएको राष्ट्रिय लिगमा ए डिभिजन विजेता टोली चर्च ब्वाइज यूनाइटेडको सुरुआत खासै राम्रो भएन । चर्चब्वाइजले ए डिभिजनमा बढुवा भएको टोली श्रीभगवती क्लबसँग १–१ बराबरी खेलेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा भगवतीले पहिले अग्रता लिएको थियो । पहिलो हाफ सकिन लाग्दा भगवतीका लागि हरिहर बुढाथोकीले गोल गरेका थिए । चर्च ब्वाइजका लागि कप्तान एरिक विष्टले ६५ औं मिनेटमा गोल गरेर टोलीलाई बराबरीमा पु¥याएका थिए ।

अर्को ए डिभिजन क्लब फ्रेन्ड्स क्लबले भने जित निकालेको छ । फ्रेन्ड्सले सुर्खेतको काँक्रेविहार क्लबलाई ३–१ ले पराजित गरेको थियो । एन्फा मैदानमै भएको खेलमा प्रशान्त लक्सम, प्रवेश बस्नेत र आशीष चापागाईले गोल गर्दा ललितपुरे टोलीको जित संभव भयो । जबकी खेलमा कमल श्रेष्ठको आत्मघाती गोलमा काँक्रेबिहारले १–० को अग्रता लिएको थियो ।

प्रतियोगितामा १३ ए डिभिजन र एन्फा प्रेसिडेन्ट लिगबाट आएका ४ गरी १७ टोलीले सहभागिता जनाएका छन् । ए डिभिजनको हिमालयन शेर्पा क्लबले भने यसमा सहभागिता जनाएको छैन । यस प्रतियोििगतामा विजेता हुने टोलीले ५० लाख नगद पुरस्कार पाउने छ ।