एन्फाको बजेट १ अर्बभन्दा बढी


काठमाडौ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको एन्फा कार्यसमिति बैठकले १ अर्बभन्दा बढी रकमको बजेट पारित गरेको छ ।

कार्यसमिति बैठकले आर्थिक वर्ष २०८२÷८३ (सन् २०२६) का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बजेट पारित गरेको जनाएको हो । यस्तै बैठकले अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को संघको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय पनि गरेको विज्ञप्तीमा उल्लेख छ ।

तर एन्फा कार्यसमिति बैठकले अर्ली इलेक्सनको विषयमा छलफल हुने अनुमानलाई भने गलत ठह¥यायो । सो बैठकमा अर्ली इलेक्सनबारे कुनै छलफल गरिएन । यस विषयमा एन्फा नेतृत्व चुपचाप नै देखियो ।

पछिल्लो समय देखिएको विवादको विषय नै अर्ली इलेक्सन हो । असारमा हुनु पर्ने एन्फाको निर्वाचन यही माघमै गर्ने मिति तोकिएको थियो । गत पुस १६ गते बसेको एन्फा कार्यमसिति बैठकले माघ २८ गते झापामा एन्फाको निर्वाचन गर्ने निर्णय गरेको थियो । यसका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

यसैबीचमा खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) मा उजुरी परेपछि राखेपले निर्वाचन नगर्न एन्फालाई पत्र पठाएको छ । यसमा पनि अटेर गरेपछि एन्फाविरुद्ध गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले गत पुस २५ गते पाटन उच्च अदालतमा मुद्दा राखेका थिए ।

अदालतले निर्वाचन सम्बन्धि कुनै पनि प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । अदालतले यसमा अन्तरिम आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने निर्णयका लागि माघ ६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।