पोखरा ।
पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनलाई लिएर वडा नम्बर ३३ मा पुनः ठूलो विवाद चर्किएको छ । २०८० जेठमा महानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि भन्दै वडा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत बैंक खातामा ५५ लाख रुपियाँ पठाएको घटना पहिल्यै विवादित बनेको थियो । जग्गा खरिदका नाममा व्यक्तिगत खातामा रकम पठाइनु शंकास्पद भन्दै स्थानीयले विरोध जनाएका थिए र सो स्थानमा फोहोर व्यवस्थापन हुन नदिने अडान लिएका थिए ।
त्यसको दुई वर्षपछि सोही विषय फेरि सतहमा आएको छ ।
हालै स्थानीयले पोखरा–३३ मा फोहोरमैला व्यवस्थापन गर्न नदिने भनेपछि विवाद उग्र बनेको हो । वडा कार्यालय पुगेका स्थानीयलाई वडाध्यक्ष अधिकारीले खुकुरी देखाएर धम्की दिएको आरोपले अवस्था झनै तनावपूर्ण बनायो । यसपछि मेयर धनराज आचार्यले छलफलका लागि बोलाए पनि स्थानीयलाई छलफलस्थल बाहिरै राखिएको भन्दै विरोध भयो ।
स्थानीयवासीको मुख्य विरोध प्रशोधन केन्द्रको नाममा ल्यान्डफिल साइट नै बनाउन खोजिएको आरोप हो । स्थानीय दिनेश आचार्यका अनुसार ९५ प्रतिशत जनताको विरोध हुँदाहुँदै पनि सोही स्थानमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न खोज्नु रहस्यमय छ । समग्र पोखरा र आसपासको फोहोर एकै स्थानमा विसर्जन गर्दा स्वास्थ्य र वातावरणमा गम्भीर असर पर्ने स्थानीयको चिन्ता छ ।
विवादलाई थप बल दिने तथ्य २०७९ पुस २५ गतेको महानगर कार्यपालिकाको निर्णय हो, जसअनुसार वडाध्यक्ष अधिकारीलाई ‘फोहोरमैला प्रशोधन तथा जग्गा व्यवस्थापन’का लागि पेस्कीस्वरूप ५५ लाख रुपियाँ दिइएको देखिन्छ । उक्त रकम राष्ट्रिय वाणिज्य बैंकको महानगर खाताबाट एनआईसी एसिया बैंकमा रहेको वडाध्यक्षको व्यक्तिगत खातामा पठाइएको थियो । महानगरले पुँडीटार क्षेत्रमा ४२ जनाको नाममा ९६ रोपनी जग्गा खरिद गरी प्रशोधन केन्द्र बनाउने योजना अघि सारेको छ ।
स्थानीय रामबहादुर थापाका अनुसार दुई वर्षअघि साम्य भएको विषयलाई रहस्यमय रूपमा पुनः अघि सारिनु सुशासनविपरीत हो ।
अन्य विकल्प हुँदाहुँदै जनताको इच्छाविपरीत निर्णय गर्न खोजिएको, मुआब्जा र जग्गा खरिदमा समेत पारदर्शिता नदेखिएको आरोप स्थानीयको छ । सार्वजनिक सुनुवाइ नगरी कम्पनीसँग सम्झौता गरिएको आरोप पनि उठेको छ ।
यता, मेयर धनराज आचार्यले भने डम्पिङ साइट नभई आधुनिक प्रशोधन केन्द्र बनाउने दाबी गर्दै स्थानीयसँग छलफल गर्न महानगर तयार रहेको बताउनुभएको छ तर सहमति नजुट्दा पोखरामा दुई दिनदेखि फोहोर संकलनसमेत प्रभावित भएको छ ।











प्रतिक्रिया