काठमाडौं ।
राजनीतिक दलहरूले आयोगमा बुझाएको उम्मेदवारको बन्दसूचीबाट १८ दलका १ सय ६४ जनाले नाम फिर्ता लिएका थिए । उनीहरूको ठाउँमा सम्बन्धित दललाई अर्को उम्मेदवारको नाम पठाउन आग्रह गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसै गरी जनता समाजवादी पार्टी नेपालका २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यी दुई दलबीच एकता भइसकेकोले लोसपाका तर्फबाट परेका उम्मेदवार फिर्ता लिएर जसपाको सूचीमा राखिएको छ ।
जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उन्नत लोकतान्त्रिक पार्टीका २ जना, नेपाली कम्युनिस्ट पार्टीका २ जना, नेपाली कांग्रेसका २ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २ जना, गतिशील लोकतान्त्रिक पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना, नेपाल जनता पार्टीका १ जना, प्रगतिशील लोकतान्त्रिक पार्टीका १ जना, संघीय लोकतान्त्रिक पार्टीका १ जना र संयुक्त नागरिक पार्टीका १ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिएकाको ठाउँमा सम्बन्धित पार्टीले अर्को व्यक्तिको नाम पठाएपछि आयोगले नयाँ आएका नाम समेत समावेश गरेर माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्नेछ । प्रकाशित नामउपर दाबी विरोधका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय रहनेछ । दाबी विरोधको उजुरीमाथि माघ ११ देखि माघ १७ गतेसम्म निर्वाचन आयोगले अध्ययन गरी उक्त सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ । माघ २० मा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभाका लागि समानुपातिक तर्फबाट १ सय १० जना निर्वाचित हुन्छन् भने १ सय ६५ जना प्रत्यक्ष चुनाव जितेर आउँछन् । प्रत्यक्षतर्फको मनोनयन दर्ता भने आगामी माघ ६ गते हुनेछ ।











प्रतिक्रिया