काठमाडौं ।
भारतको हिमाचल प्रदेशस्थित एक आवासीय क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपाली नागरिकको ज्यान गएको छ । सोमवार राति सुतिरहेको अवस्थामा कोठाभित्र राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भई भीषण आगलागी हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका नौ जनाको मृत्यु भएको हो ।
घटना यति भयावह थियो कि विस्फोटसँगै फैलिएको आगोले पीडितहरू बसोबास गरिरहेका घर पूर्ण रूपमा ध्वस्त हुनुका साथै वरपरका अन्य घरहरूसमेत जलेर नष्ट भएका छन् । स्थानीय प्रशासनका अनुसार विस्फोटपछि रातभर आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो ।
विस्फोटबाट सबैभन्दा बढी क्षति एकै परिवारले बेहोरेको छ । घटनास्थलमै धनबहादुर विक, उहाँकी श्रीमती कविता विक, छोरीहरू राधा विक र रेणुका विक र २२ महिनाका छोरा राजन विकको ज्यान गएको भारतीय प्रहरीले पुष्टि गरेको छ । सुतिरहेको अवस्थामा अचानक आगो फैलिँदा उहाँहरू बाहिर निस्कने मौका समेत नपाई जलेर मृत्यु भएको जनाइएको छ ।
उक्त घटनामा सोही गाउँका अर्का स्थानीय काशीराम विक, उहाँकी श्रीमती टीका विक, छोरी अनु विक र छोरा किरण विकको पनि मृत्यु भएको छ । विस्फोटपछि घरभित्रै थुनिएर उहाँहरूको ज्यान गएको प्रहरीको अनुमान छ ।
स्थानीय प्रशासनका अनुसार हालसम्म पाँच जनाको शव फेला परिसकेको छ भने बाँकी चार जनाको शव खोजी कार्य जारी छ । आगलागीका कारण घर पूर्ण रूपमा ध्वस्त भएकाले भग्नावशेष हटाएर शव निकाल्ने काम भइरहेको बताइएको छ । घटनास्थलमा प्रहरी, दमकल र उद्धार टोली परिचालित छन् ।
एकै गाउँका नौ जनाको ज्यान गएको खबरपछि सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा शोकमा डुबेको छ । मृतकहरू सबै रोजगारीका लागि भारत पुगेका थिए र एउटै क्षेत्रमा बसोबास गर्दै आएका थिए । गाउँका आफन्त र छिमेकीहरूका अनुसार एकै रातमा पूरै परिवार सकिएको खबरले गाउँ नै स्तब्ध बनेको छ ।
विस्फोटको कारणबारे अनुसन्धान सुरु
ग्यास चुहावट भएर विस्फोट भएको आशंका गरिए पनि वास्तविक कारण पत्ता लगाउन भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । घटनास्थलबाट ग्यास सिलिन्डरका टुक्रा फेला परेका छन् । प्रारम्भिक अनुसन्धान सकिएपछि थप विवरण सार्वजनिक गरिने बताइएको छ ।
यस घटनापछि भारतमा रहेका नेपाली श्रमिकहरूको आवासीय सुरक्षाबारे पुनः गम्भीर प्रश्न उठेको छ । सुरक्षित बसोबास, ग्यास प्रयोगमा सावधानी र आपतकालीन पूर्वतयारीको आवश्यकता रहेको सरोकारवालाहरूले औंल्याएका छन् ।











प्रतिक्रिया