काठमाडौं ।
नेपाली कांग्रेसका विभिन्न गुटबीचको मतभेद र विशेष महाधिवेशनको गतिवधिले पार्टीको भविष्यमा अनिश्चितता सिर्जना गरेको छ ।
भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा पार्टीका अधिकांश प्रतिनिधिहरू सहभागी भए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका राजनीतिक र सांगठानिक प्रतिवेदन पारित भए पनि सहमतिको सम्भावना अझै कमजोर देखिएको छ । थापाले समसामयिक राजनीतिक र शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
महामन्त्री गगन थापाले अब कुनै पनि सहमति विशेष महाधिवेशनको हल बाहिरबाट स्वीकार्य नभएको जिकिर गर्दै भन्नुभयो– ‘अब बाहिरको कुराले हुँदैन । यो हलले नै सबै विषयको निर्णय गर्नुपर्छ । हाम्रो उद्देश्य पार्टीभित्र विद्रोह नभई नीति र नेतृत्व परिवर्तनको मागलाई उपलब्धिपूर्ण ढंगले टुंग्याउनु हो ।’
त्रिपक्षीय वार्ता समितिले दिनभर छलफल गरे पनि पार्टीको पुरानो र नयाँ गुटबीच सहमति हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले भने पार्टीलाई मजबुत बनाउने र विग्रहको बाटोमा नजाने आग्रह गर्नुभएको छ । तर, नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएसँगै सहमतिको सम्भावना झिनो हुँदै गएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठक मंगलवार नै बोलाउनु भए तापनि बैठक आज बुधबारमात्रै बस्ने भएको छ । अहिलेको अवस्थालाई हेर्ने हो भने अब कांग्रेस विभाजनउन्मुख भएको छ । आइतबारदेखि भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशन र मंगलवार दिनभर भएका त्रिपक्षीय वार्ताले केही सहमति र प्रगतिका संकेत देखाए पनि पार्टीमा विभाजनको सम्भावना अझै कायम छ ।
पार्टी विवाद अन्त्यका लागि गठन गरिएको त्रिपक्षीय वार्ता समितिमा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाँण, नेता शेखर कोइरालाको समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल, र विशेष महाधिवेशन पक्षबाट देवराज चालिसे, मधु आचार्य तथा प्रदीप पौडेल सहभागी छन् ।
त्रिपक्षीय वार्ता सहमतिमा विशेष महाधिवेशनको स्वामित्व र प्रतिवेदन समावेश गर्ने विषयमा मोटामोटी सहमति भएको स्रोतले जनाएको छ । विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापन समूहले अध्ययन गर्ने र उनीहरूको सुझावलाई प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको छ ।
यद्यपि, विशेष महाधिवेशन र गुटबीचको द्वन्द्वको परिस्थितिमा कांग्रेसको आगामी राजनीतिक भूमिका र आगामी निर्वाचनमा प्रभाव रहस्यमय बनेको छ । पार्टी विभाजन भए राजनीतिक परिदृश्यमा नयाँ समीकरण बन्ने, नभए पार्टीभित्रै सहमति कायम गर्ने सम्भावना रहेको छ ।
सभापति देउवाले पार्टीमा समझदारी गरेर अघि बढ्नुपर्ने धारणा राख्दै भन्नुभयो–‘पार्टी नेतृत्व नियमित महाधिवेशनबाट आउँछ । अब विग्रहको बाटोमा जानुहुँदैन । उहाँले भन्नुभयो–‘रातिसम्म समझदारी बन्छ भने राम्रो, अन्यथा निर्णयमा किन जाने ।’
विशेष महाधिवेशनको तेस्रो दिन नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएपछि सहमतिको सम्भावना झिनो हुँदै गएको छ । बन्दसत्रले विधान पारित गर्दै जनसम्पर्क समितिका तर्फबाट प्रत्येक महादेशबाट १ जना केन्द्रीय सदस्य राख्ने व्यवस्था गरेको छ । विधान संशोधनसँगै चुनावी प्रक्रिया अघि बढ्दा पार्टी विभाजनको खतरा अझै बढेको छ ।











प्रतिक्रिया