सिन्धुली।
सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंक शाखामा लुटपाटभएको छ। मंगलबार साँझ करिब ८ः४० बजेको समयमा अपरिचित ९–१० जनाको समूह बैंक परिसरमा प्रवेश गरी बैंकका गार्ड रुद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार गरी सामान्य घाइते बनाएको र त्यसपछि बैंकभित्र प्रवेश गरी नगद लुटेर फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वस्तीपुरबाट प्रहरी निरीक्षक किरण थापा मगरको कमाण्डमा ७ जनाको टोली खटिएको टोलीले घटनास्थलको अनुसन्धान तथा लुटपाटमा संलग्न व्यक्तिहरूको खोजतलास गरिरहेको छ।
हाल लुटिएको रकमको यकिन विवरण खुल्न सकेको छैन।
घटनाको थप अनुसन्धान तथा खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा २७ जनाको प्रहरी टोली र सहायक प्रहरी नायब उपरीक्षकको कमाण्डमा ११ जनाको थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले जिल्लाका सम्पूर्ण नाकाहरू तथा आसपासका क्षेत्रमा व्यापक रूपमा प्रहरी जनशक्ति परिचालन गरेको छ। घटनास्थल ईलाका प्रहरी कार्यालय वस्तीपुरबाट करिब ५०० मिटर पूर्व र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट करिब ३५ किलोमिटर उत्तर–पश्चिममा पर्दछ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया