साहित्य आत्मसन्तुष्टिको साधनमात्र होइन, समाज निर्माणको दस्तावेज पनि हो । लेखकले जब हृदयको गहिराइबाट अनुभूत भावनालाई शब्दमा ढाल्छ, त्यो सिर्जना कालान्तरमा सामाजिक चेतनाको आधार बन्न पुग्छ । यस अर्थमा कुनै कृति जन्माउनु एउटा सन्तानलाई योग्य बनाउनुजस्तै गहन श्रम र उत्तरदायित्वको काम हो । योग्य सन्तानले देश बनाउँछ भने सशक्त साहित्यले समाज बदल्छ ।
यही सन्दर्भमा कवयित्री रीता बलामीको बालकविता सङ्ग्रह ‘बालमञ्जरी’ नेपाली बालसाहित्यमा एउटा भिन्न र महत्वपूर्ण हस्तक्षेपका रूपमा देखा पर्छ । दक्षिणकाली नगरपालिका, फर्पिङ निवासी बलामीका हालै प्रकाशित कृतिहरूमध्ये ‘बालमञ्जरी’ले बालबालिकालाई उपदेश दिने होइन, उनीहरूको अनुभूत यथार्थलाई स्वर दिने साहसी प्रयास गरेको छ ।
नेपाली बालसाहित्य परम्परागतरूपमा नैतिक शिक्षा, देशप्रेम र आदर्श नागरिक निर्माणमा केन्द्रित रहँदै आएको छ ।
लेखनाथ पौड्यालदेखि देवकोटा र माधव घिमिरेसम्मको परम्पराले बालसाहित्यलाई ‘भोलिको नागरिक’ बनाउने साधनका रूपमा हेरेको पाइन्छ । तर ‘बालमञ्जरी’ले यो दृष्टिकोणलाई तोड्दै बालबालिकाको आजको पीडा, डर, द्वन्द्व र चेतनालाई केन्द्रमा राखेको छ । यस कारण यो सङ्ग्रह नेपाली बालसाहित्यको मूल धारभन्दा फरक दिशामा उभिएको कृति हो ।
‘बालमञ्जरी’मा जम्मा ४० वटा बालकविता समेटिएका छन् । सङ्ग्रहको शुरुवात स–साना बालबालिकालाई विद्यालयमा हुने हिंसाविरुद्धको अत्यन्त मार्मिक कविता ‘नकुट न मलाई’बाट हुन्छ भने बालसुलभ, ध्वन्यात्मक र आशावादी कविता ‘उडुँ उडुँ’मा अन्त्य हुन्छ । यस क्रममा कविताहरू पीडाबाट चेतनातर्फ, डरबाट अभिव्यक्तितर्फ र मौनताबाट स्वराङ्कनतर्फ क्रमशः अघि बढ्छन् । यही संरचनात्मक यात्रा नै कृतिको मूल सौन्दर्य हो ।
‘नकुट न मलाई’, ‘डर’, ‘आनी’ जस्ता कविताहरूले नेपाली बालसाहित्यमा दुर्लभ विषयवस्तु बोकेका छन् । घरेलु हिंसा, मद्यपान, पारिवारिक त्रासले बालमनोविज्ञानमा पार्ने प्रभावलाई यी कविताहरूले अत्यन्त सजीव रूपमा वकालत गरेका छन् ।
नकुट न मलाई साना–साना हातमा,
डराउँछु, आत्तिन्छु, झस्किन्छु रे रातमा ।
माथिका जस्ता पंक्तिहरूमा अलंकार होइन, बालमस्तिष्कमा जमेको डर बोलिरहेको छ । यी कविताहरू बालबालिकाका लागि मात्र होइन, वयष्क समाजलाई लज्जित बनाउने मौन प्रतिरोध पनि हुन् । सम्बन्ध विच्छेद, वैदेशिक रोजगार र भावनात्मक उपेक्षाका कारण सिर्जित पीडा ‘दुवै मेरा मुटु’, ‘भएँ फुटबल’, ‘मेरो कथा’ जस्ता कवितामा सशक्तरूपमा अभिव्यक्त छन् ।
‘दुईमध्ये एक रोजी हुन्न मनलाई विश्राम’ भन्ने बालकको अभिव्यक्तिले समाज र अभिभावक दुवैलाई गहिरो नैतिक प्रश्न सोध्छ ।
त्यसै गरी ‘पानी चल्दैन’ कविताले जातीय विभेदमाथि सरल तर प्रभावकारी प्रहार गरेको छ भने ‘चित्त दुख्छ’ ले अपांगताप्रति दयाभाव होइन, समान अवसरको माग गर्छ । विशेष गरी ‘पाउन्न कोहीले छुन’ कविता बालशरीरमाथि बालबालिकाको स्वामित्व र यौन हिंसाविरुद्धको स्पष्ट घोषणापत्रका रूपमा उभिन्छ ।
कवयित्री रीता बलामीको भाषा सरल, बोलिचालीनजिक र बालअनुभूतिसँग मेल खाने खालको छ । छन्द र लय स्वतन्त्र छन् जसले भावलाई स्वाभाविक बनाएको छ । कविताहरू लामा छन्, तर बालमस्तिष्कका जटिल संवेदना उतार्न यही विस्तार आवश्यक देखिन्छ ।
निष्कर्षमा, ‘बालमञ्जरी’ १२ वर्षमुनिका बालबालिकाका लागि मात्र सीमित छैन । यसले किशोर र वयष्क पाठकलाई पनि उत्तिकै छुन्छ । किनकि यसमा सम्बन्ध विच्छेद, नशा, यौन हिंसा, आत्मसम्मान र सामाजिक अन्यायजस्ता गम्भीर विषय उठाइएका छन् । केही साना भाषिक र हिज्जेगत कमजोरीबाहेक यो कृति अत्यन्त सशक्त, संवेदनशील र ज्ञानवद्र्धक छ ।
‘बालमञ्जरी’ले बालबालिका अबोध मनलाई मात्र होइन, उनीहरू पूर्ण चेतनायुक्त मानव हुन् भन्ने सन्देश दिन्छ । त्यस अर्थमा यो कृति नेपाली बालसाहित्यको एक महत्वपूर्ण दस्तावेज हो । रीता बलामी केवल बालकविता लेख्ने कवयित्री होइनन्, उनी बालमनकी प्रवक्ता हुन् । उनका साहित्यिक यात्राका पाइलाहरू अझ सबल र उज्यालो बनून्, यही शुभकामना व्यक्त गर्दछु ।











प्रतिक्रिया