काठमाडौं ।
दोस्रो विशेष महाधिवेशन चलिरहेकै बेला नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा बस्नेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा एकै समयमा केन्द्रीय कार्यसमिति बैठक बोलाइनुलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसले पार्टीभित्र देखिएको मतभेद, नेतृत्वको भूमिका र भावी रणनीतिबारे महत्वपूर्ण छलफल हुन सक्ने संकेत गरेको छ।
आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा पार्टीको विधान संशोधन, नीति, नेतृत्वको दिशा तथा समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भइरहेको छ। महाधिवेशनकै बीचमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका एजेन्डामा साझा धारणा बनाउने, आगामी राजनीतिक रणनीति तय गर्ने तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा निर्णायक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया