काठमाडौं ।
नेपाल प्रहरी र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । ४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोश्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् । दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ ले पराजित गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा प्रहरीले नेपाल आर्मीलाई २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ ले पराजित ग¥यो । अर्को खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५ र १५–७ ले हरायो । लगातार दोश्रो पराजयसंगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन् । यसअघि प्रहरीले एपीएफलाई ३–० तथा न्यु डायमन्डले आर्मीलाई ३–० ले पाखा लगाएका थिए ।
पहिलो खेलमा प्रहरीकी उषा भण्डारी र दोश्रोमा न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ दि म्याच’ बन्दै समान १५–१५ हजार नगदबाट पुरस्कृत भए ।
यस प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।











प्रतिक्रिया