मन्त्रीहरूकै कारण बढ्दैछ समस्या

समानुपातिक सिफारिसमा नै चुलियो जनअसन्तुष्टि


काठमाडौं ।

परम्परागत दलविरुद्धको जनआक्रोशको जगमा उदाएका नयाँ भनिएका दलहरू अहिले आफ्नै व्यवहारका कारण गम्भीर परीक्षामा परेका छन् । सुशासन, पारदर्शिता र फरक राजनीतिक संस्कृतिको वाचा गर्दै उदाएको विभिन्न नयाँ दलहरूलाई समाहित गराएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुरुआतमै जनअसन्तुष्टि, विवाद र अविश्वासको घेरामा परेको छ । रास्वपामा पछिल्लो समय जस्तासुकै पृष्ठभूमिका व्यक्तिहरू पनि धमाधम प्रवेश गर्न थालेका छन् । यसले पार्टीको नैतिक धरातलमाथि प्रश्न उठाएको छ ।

नागरिक सरकारमा सहभागी भई पछिल्लो समय प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रास्वपासँग जोडिएका केही मन्त्रीहरूको रबैया, अभिव्यक्ति र निर्णय प्रक्रियाको दोष रास्वपामाथि पर्न थालेको छ । रास्वपाको उपसभापति समेत रहेका ऊर्जा, भौतिक र सहरी विकास मन्त्रीसमेत रहनुभएका कुलमान घिसिङ सरकारमा नै रहेको भन्दै आलोचना भएपछि बुधबार राजिनामा दिनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले नागरिक सरकार भएकाले दलमा आवद्ध हुँदा गम्भीर प्रश्न सिर्जना भएको भन्दै कुलमानलगायत सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई राजीनामा दिन सुझाए पनि उहाँहरू सबै जना अटेर गरेर बसिरहनुभएको छ । खरेल र गुप्ता पनि रास्वपामा समाहित हुँदै आगामी चुनावको प्रचारमा लागिसक्नु भएको छ । उहाँहरूको गतिविधिका कारण नयाँ दलको रूपमा रहेको रास्वपामाथि समेत गम्भीर प्रश्न उठिरहेको बताइएको छ ।
अर्कोतर्फ वर्तमान सरकारलाई लिएर ‘यो सरकार बालेनले बनाएको’ भन्ने धारणा जनस्तरमा फैलिएको छ । सरकारले गर्ने काम–नगर्ने काम बालेनसँग जोडिन थालेपछि काठमाडौं महानगरका मेयर बालेन शाहको छविमाथि समेत प्रश्न उठ्न थालेको छ ।
त्यसै गरी रास्वपाले समानुपातिकतर्फ सिफारिस गरेका उम्मेदवारहरूकै कारण पार्टीभित्र र बाहिर चरम असन्तुष्टि पैदा भएको हो । विवाद चर्किएपछि पार्टी नेतृत्व धमाधम नाम फिर्ता गर्न बाध्य बनेको छ, जसले नयाँ दलको रूपमा रहेको रास्वपाको निर्णय प्रक्रिया र आन्तरिक मापदण्डमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

समानुपातिक उम्मेदवार छनोट गर्दा पार्टीभित्र योग्यता र योगदानभन्दा पहुँच हाबी भएको आरोप गम्भीर रूपमा लाग्यो । पार्टी मूल्य र पृष्ठभूमि नहेरी सिफारिस गरिएको भन्दै पार्टीका नेता कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् । एक असन्तुष्ट कार्यकर्ताले नेपाल समाचारपत्रसँग भने– ‘पुराना दलको विकृति अन्त्य गर्न आएको पार्टीले उही शैली दोहो¥यायो भने पुरानो र यसमा फरक के रह्यो र ?’

विशेषगरी कैलाली घटनासँग जोडिएका लक्ष्मण चौधरीलाई पार्टी प्रवेश गराइनुले नयाँ दलको ‘नैतिक राजनीति’ को नारालाई गम्भीर धक्का दिएको जनआक्रोश देखिन्छ । राजनीतिक विश्लेषक भन्छन्–‘नयाँ दलले गल्ती गर्ने छुट पाउँदैन । किनकि अपेक्षा असाध्यै ठूलो हुन्छ ।’

उनीहरूका अनुसार नयाँ दलका रूपमा रहेको रास्वपाका लागि समय सबैभन्दा संवेदनशील छ । सुरुवातमै जनविश्वास गुमे पुनः प्राप्त गर्न कठिन हुन सक्छ । ‘पुरानै रोग’ ले समाते पार्टी छोटो समयमा नै पतनतर्फ जानसक्ने टिप्पणी गर्दै एक विश्लेषकले भने– ‘नयाँ दलको सबैभन्दा ठूलो चुनौती सत्ता होइन, चरित्र हो ।’

नयाँ दलहरू साँच्चिकै विकल्प बन्ने कि पुरानै राजनीतिका नयाँ संस्करणमा सीमित हुने भन्ने प्रश्न अब जनताले खुला रूपमा उठाउन थालेका छन् । यही कारण नयाँ दलको वास्तविक परीक्षा सुरु भएको छ—जहाँ उतीर्ण हुनु सजिलो देखिँदैन ।