कांग्रेस फुटको डिलमा, विशेष अधिवेशन आह्वान

देउवा नेतृत्वविरुद्ध गगन र विश्वको खुला विद्रोह

1.6k
Shares

–नयाँ राजनीतिक ध्रुवीकरणको संकेत
–सहभागी नहुन संस्थापनको अपिल

काठमाडौं ।

नेपाली कांग्रेस पार्टी गम्भीर आन्तरिक संकटको डिलमा पुगेको छ । नेतृत्व, टिकट वितरण, सत्ता साझेदारी र भावी राजनीतिक दिशालाई लिएर चुलिएको असन्तुष्टिले अब गुटगत विवादको सीमा नाघ्दै खुला विद्रोह र सम्भावित फुटतर्फ उन्मुख भएको संकेत देखिन थालेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले आगामी पुष २७ र २८ सम्मका लागि औपचारिक रूपमा नै विशेष महाधिवेशनको आह्वान गरेलगत्तै कांग्रेस दुई चिरामा विभाजित हुने करिब करिब निश्चितजस्तै भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व शैलीप्रति असन्तुष्ट बन्दै आएका महामन्त्रीद्वयले समानान्तर छलफल, गोप्य बैठक र वैकल्पिक रणनीति अघि बढाइरहेको अवस्थामा अहिले आएर विशेष महाधिवेशनको आह्वान गर्दै सबै नेता कार्यकर्तालाई उपस्थितिका लागि आह्वान गरेलगत्तै कांग्रेसमा संकट चुलिएको हो ।

महामन्त्रीद्वयले बुधबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी विधानको धारा १७ (२) बमोजिम २ हजार २ सय ८८ जना (५४ दशमलव ५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग आएको अवस्थामा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेका छन् । उहाँहरूले पुस २७ र २८ गते विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई समेत आह्वान गर्दै बदलिँदो राजनीतिक परिस्थिति, कमजोर बन्दै गएको संगठन र जनभावनाअनुरूप नीति निर्माणका लागि विशेष निर्णय लिन विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्नुभएको छ ।

महामन्त्रीद्वयले भनेका छन् –‘विधानबमोजिम कारणसहित माग गरिएको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई दिएको छैन । यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन । पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा बाध्यकारी बनिसकेको छ ।’

स्रोतका अनुसार कांग्रेसभित्र ‘सुधारवादी–युवा समूह’ र ‘संस्थापन पक्ष’बीच विश्वासको संकट गहिरिँदै गएको छ । पछिल्ला साताहरूमा काठमाडौं र प्रदेश राजधानीहरूमा भएका गोप्य छलफलहरूले पार्टीभित्रको तनाब सतहमा ल्याएको छ । महामन्त्रीद्वय पक्षधरले अब यही संरचनामा कांग्रेस चल्दैन भन्दै कांग्रेसमा रूपान्तरणको आवाज उठाउँदै आइरहेका छन् । गगन पक्षका एक नेताले भने– ‘यो सामान्य असन्तुष्टि होइन, पार्टीको भविष्यलाई लिएर गम्भीर विद्रोह हो ।

नेतृत्वले समयमै सुनेन भने इतिहास दोहोरिन सक्छ ।’ पार्टीभित्रका युवा नेताहरू कांग्रेस जनताबाट टाढिँदै गएको र वैचारिक रूपमा कमजोर बन्दै गएको निष्कर्षमा पुगेका छन् । तर, संस्थापन पक्षले भने महामन्त्रीद्वय कसैको उक्साहटमा लागी पार्टी फोर्ने कार्यमा सक्रिय हुन लागेको भन्दै आपत्ति जनाउँदै महामन्त्रीद्वयले बोलाएको बैठक महाधिवेशन नभई ‘भेला’ मात्रै हुने र त्यस्तो भेलामा समेत सहभागी नहुन आह्वान गरेको छ । विशेष महाधिवेशन आह्वानले कांग्रेसभित्र किचलो उत्कर्षमा पुगेको छ ।

विशेष महाधिवेशनका लागि १८ उपसमिति गठन
विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन सम्पन्न गर्न १८ वटा उपसमिति गठन गरिसकेका छन् । विशेष महाधिवेशन सञ्चार तथा प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना, जेन–जी युवा परिचालनलगायत समिति गठन गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता सुवास पोखरेलले भन्नुभयो – ‘विशेष महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी सुरु भइसकेको छ । यद्यपि, केन्द्रले आफ्नो दायित्व बुझेर आयोजनाको स्वामित्व लिने विश्वास अझै छ ।’

संस्थापन पक्षको आपत्ति
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको आह्वानप्रति पार्टी केन्द्रले औपचारिक आपत्ति जनाएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशन आह्वान विधानविपरीत भएको ठहर गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन तथा महाधिवेशनको प्रक्रिया सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको यथार्थलाई बेवास्ता गर्दै विशेष महाधिवेशन आह्वान गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संस्थापन पक्ष इतर समूहले विशेष महाधिवेशनले पार्टी एकतालाई सुदृढ गर्ने र कांग्रेसलाई नयाँ उचाइमा पु¥याउने दाबी गरेको छ ।
पार्टी केन्द्रले स्पष्ट रूपमा भनेको छ–‘पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र छ ।

केन्द्रले विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई अपिलसमेत गरेको छ ।’