काठमाडौँ।
नागरिक सरकारमा ऊर्जा, भौतिक तथा सहरी विकासहित तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले आजै राजीनामा दिने तयारी गरेका छन्। उनी साँझ ९ बजे उर्जा मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत राजीनामाबारे जानकारी दिने कार्यक्रम तय गरिएको छ।
सरकारभित्र राजनीतिक गतिविधिमा संलग्न मन्त्रीहरूको भूमिकालाई लिएर विवाद बढेपछि प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेकी छन्। यस कदमलाई सरकारले निष्पक्ष चुनावी सरकारको मान्यता कायम राख्न आवश्यक भएको बताइएको छ।
विशेषगरी घिसिङ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) सँग आबद्ध भइसकेका कारण, उनको सरकारी भूमिकाको निष्पक्षता र राजनीतिक सक्रियता बिच द्विविधा उत्पन्न भएको बताइन्छ।
घिसिङले पहिले ’उज्यालो नेपाल पार्टी’ मार्फत राजनीतिक सक्रियता देखाएका थिए र पछि रास्वपासँग एकता गर्दै उपसभापतिका लागि सहमति पनि गरेको चर्चा छ। राजीनामा उनलाई प्रतिनिधि सभा चुनाव लड्न अनुमति प्राप्त गर्ने तयारी अन्तर्गतको कदमका रूपमा पनि हेरिएको छ।
तर, सरकारी तर्फबाट भने प्रधानमन्त्री कार्कीले मन्त्रीहरूलाई राजीनामा दिन भनेको छैन भन्ने स्पष्टिकरण पनि आएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रधानमन्त्रीबाट कुनै निर्देशन वा सुझाव आएको नभएको जनाएका छन्।
हालै आएको समाचारअनुसार कुलमान घिसिङ काठमाडौँ–३ बाट आगामी प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन्। यसका लागि राजीनामा प्रक्रियालाई अघि बढाउने तयारी गरिएको बुझिएको छ।
घिसिङमाथि नागरिक सरकारमा रहँदै पार्टीगत राजनीति तथा चुनावी गतिविधिमा संलग्न भएको आरोप उठ्दै आएको छ, जसले सरकारको ‘निर्वाचनभन्दा टाढा’ रहने मान्यतालाई प्रश्नमा पार्ने परिस्थिति सिर्जना गरेको छ।











प्रतिक्रिया