कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नगरेको सञ्चारमन्त्री खरेलको स्पष्टोक्ति

0
Shares

भक्तपुर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नगरेको बताएका छन् ।

आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ औं स्थापना दिवस समारोहमा बोल्दै मन्त्री खरेलले आफ्ना बारेमा विभिन्न चर्चा चल्ने गरेको बताउँदै उनले चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको प्रस्ट पारे ।

आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफलसमेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरूले गलत समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे ।

मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको बताए । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सचेत रहन आग्रह गरे ।

फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचार मात्रै सम्प्रेषण गर्न पनि सञ्चार माध्यमलाई आग्रह गरे ।  

कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पत्रकारले लाईक, सेयर र भ्यूजुको मात्र ख्याल नगरी सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताए । 

नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष उमित वाकचन, मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले शुभकामना मन्तव्य राखे । त्यसैगरी बरिष्ठ पत्रकार कविर राणा,महासँघ भक्तपुर शाखाका पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार,जिल्ला शाखा काठमाडौंकी अध्यक्ष शोभा अर्याल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा ललितपुरका अध्यक्ष रामहरि कार्कीलगायतले पत्रकारले संयमित भएर तथ्यपूर्ण र व्यवसायिक ढंगबाट पत्रकारिता गर्नुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यसहित तीन पत्रकार सम्मानित भएका छन् ।

पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ औं स्थापना दिवसको अवसरमा महासंघले स्थापना गरेको १५ हजार रूपैयाँ राशिको स्व.भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारद्वारा नेपाल अर्थडटकमका कार्यकारी अध्यक्षसमेत रहेका पेशल आचार्यलाई मन्त्री खरेलले सम्मान गरे ।

स्व.मैंयादेवी शिल्पकार स्मृति पत्रकारिताद्वारा कान्तिपुर टेलिभिजनका फोटो पत्रकार विनोद कोजु र हेरिटेज नेपाल न्युजकी लीला श्रेष्ठ सम्मानित भएका छन् ।