काठमाडौं।
नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत गैरव्यावसायिक तथा अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स (ट्विटर), टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालमार्फत संगठनविरुद्ध टिप्पणी गर्ने, प्रहरी पोषाक तथा गतिविधिको दुरुपयोग गर्ने प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गरिएको हो।
नेपाल प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) १ जना, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १ जना, प्रहरी उपरीक्षक (एसपी) ४ जना, प्रहरी नायब उपरीक्षक (डिएसपी) ५ जना, प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवल्दार ७ जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३५८ जना र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन्।
उनीहरूलाई संगठनको नीति तथा आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्का सम्मका विभागीय कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, जिम्मेवार र मर्यादित बनाउन मिति २०७१ साल पुस ११ गतेदेखि सामाजिक सञ्जालको व्यवस्थित प्रयोग सम्बन्धी निर्देशिका (Guidelines) लागू गरेको थियो। साथै, नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश–२०७७ तथा प्रहरी प्रधान कार्यालयबाट जारी विभिन्न परिपत्रहरूमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी स्पष्ट बन्देज व्यवस्था गरिएको छ।
ती निर्देशिकाअनुसार प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक तथा अमर्यादित आचरण देखिने गरी हातहतियार, पोषाक, सवारी साधन तथा प्रहरी गतिविधिसम्बन्धी फोटो वा भिडियो अपलोड गर्न, टिप्पणी गर्न वा प्रचार गर्न निषेध गरिएको छ। त्यस्तै, गोपनीयता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पुग्ने कुनै पनि सामग्री पोष्ट, शेयर, लाइक वा टिप्पणी गर्न नपाइने व्यवस्था गरिएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठनको छवि र व्यावसायिक मर्यादामा आँच पुग्ने सामग्री हटाउने र दोषीलाई कारबाहीको दायरामा ल्याउने कार्यलाई नेपाल प्रहरीले थप तीव्र बनाएको जनाएको छ।











प्रतिक्रिया