काठमाडौं ।
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच विशेष महाधिवेशन पक्षधरहरूले आगामी पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन आयोजना गर्ने घोषणा गरेका छन्।
विशेष महाधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले काठमाडौंको नयाँबानेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत दुईदिने विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।’
पक्षधरहरूका अनुसार पुस २७ गते भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन हुनेछ। महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न हालसम्म १८ वटा उपसमिति गठन गरिएको र ती समितिका संयोजकसमेत तोकिएको जानकारी दिइएको छ।
विशेष महाधिवेशनका लागि सचिवालयले शान्ति–सुरक्षाको व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको जनाएको छ। भृकुटीमण्डप यसअघि नै बुकिङ गरिएको दाबी पनि पक्षधरहरूले गरेका छन्।
नेपाली कांग्रेसमा पछिल्लो समय नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएको र पार्टी विधानअनुसार अब विशेष महाधिवेशन नै उपयुक्त विकल्प भएको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षको तर्क छ।
तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने भन्दै असहमति जनाउँदै आएको छ।












प्रतिक्रिया