
रसुवा । पछिल्लो समय रसुवाको पाल्दोर हिमाल पर्यटकीय गन्तव्य बनेपछि हिमालमा महिला नेतृत्वको बलियो पाइला बनेको छ । आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४, गोल्जुङका स्थानीय लाक्पा तामाङका अनुसार माउन्टेन लिडरसिप तालिममा सहभागी १८ जना महिलाको टोलीले ५,८९६ मिटर उचाइको पाल्दोर हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । तामाङ सम्पदा मार्ग हुँदै जान सकिने यस आरोहणले हिमाली क्षेत्रमा महिलाहरूको नेतृत्व क्षमता र सक्रिय उपस्थितिलाई थप मजबुत बनाएको छ ।
केही समयअघि रसुवा र धादिङको सिमानामा रहेको पाल्दोरपिक हिमाल आरोहण गरेसँगै नयाँ पर्यटकीय गन्तव्य बनेको रेकर्ड राखेका महिलाहरूसँग सगरमाथा आरोहण गरिसकेको अनुभव रहेको छ । त्यसैले माउन्टेन लिडरसिप तालिममा सहभागी १८ जना महिलाको टोलीले पाल्दोर हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् ।
पछिल्ला दिनमा पाल्दोर हिमालमा महिलाहरूबाट गरिएको साहसिक आरोहणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा यहाँका होटल व्यवसायी तथा होमस्टे सञ्चालकहरूले गरेका छन् । असिस्टेन्ट गाइड निग्माझङम्मु शेर्पाका अनुसार उक्त समूहसँगै फिक्सिङ टिमका कर्मा शेर्पा, फुरी शेर्पा पनि सहभागी थिए ।
तालिम तथा ट्रेकिङका लागि पाल्दोर हिमाल उपयुक्त हिमालका रूपमा परिचित हिमाल मानिन्छ । त्यसैले पछिल्लो समय यो हिमाल आरोहीहरुका लागि राम्रो पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिदै आएको छ ।
यहाँबाट गणेश हिमाल, मनास्लु, लाङटाङ, लिरुङलगायतका हिमशृङ्खलाका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । फिक्सिङ टिमका क्लाइम्बिङ गाइड कर्मग्याल्जेन शेर्पाले उक्त टोलीका लागि रोप फिक्सिङ गर्दै दुईपटक पाल्दोर हिमालको सफल आरोहण गरेको जानकारी दिनुभयो । ग्लोबल इन्क्लुसिभ एड्भेन्चर अर्गनाइजेसनकी पूर्वअध्यक्ष माया गुरुङका अनुसार तालिम टोलीको नेतृत्व फुरादिकी शेर्पाले गरेकी थिइन् ।











प्रतिक्रिया