विद्यालय स्तरको पाठ्यक्रममा नैतिक एवं व्यवहारिक शिक्षा अपरिहार्य


काठमाडौं
बदलिँदो सामाजिक परिवेश, तीव्र प्रविधि विकास र युवा पुस्तामा देखिँदै गएको असन्तुलनका बीच विद्यार्थीलाई नैतिक, व्यवहारिक र जिम्मेवार नागरिकका रूपमा तयार पार्नु अपरिहार्य रहेको निष्कर्षसहित एक विद्यालयस्तरीय बौद्धिक कार्यक्रम सम्पन्न भएको छ।
न्युरोडको दुगंबहिस्थित हिमालय माध्यामिक विद्यालयको ६५औं वार्षिक समारोहका वक्ताहरूले विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षालाई जोड दिंदै शिक्षालाई व्यवहारिक बनाउँदै जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार राजधानीमा आयोजित सो कार्यक्रममा आजको शिक्षा प्रणालीमा ज्ञानसँगै मूल्य शिक्षा र चरित्र निर्माण अनिवार्य भएकोमा जोड दिइएको थियो ।


कार्यक्रममा आधुनिक युगमा धर्म विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. सुरेन्द्रमान बज्राचार्यले आधुनिक समाजमा धर्मको अर्थ संस्कार, सहअस्तित्व र उत्तरदायित्वसँग जोडिएको स्पष्ट पार्दै, विद्यार्थी अवस्थामै सही–गलत छुट्याउने क्षमता विकास गरिनु आवश्यक रहेको बताए । नेपालमा बौद्ध अध्ययन विषयमा पहिलो पीएचडी हासिल गर्नुभएका बौद्ध दर्शनका विद्वान डा. सुरेन्द्रमानले बौद्ध दर्शनमा कुनै पनि कुरा धर्ममा लेखिएको छ भन्दैमा आँखा चिम्लिएर विश्वास गर्नुको साटो आफैंले उक्त कुरा सही हो कि होइन भनेर परीक्षण गरेर सही भए मात्र त्यसलाई अपनाउनुपर्ने कुरामा जोड दिए ।


त्यसैगरी पाठ्यक्रम विकास केन्द्रका पूर्व निर्देशक डा. बाबुराम ढुंगानाले विद्यालय शिक्षा कक्षाकोठामा सीमित हुँदा जीवनोपयोगी नबन्ने धारणा राख्दै पाठ्यक्रमलाई व्यवहारिक सीप, कामकाजी जीवन र सामाजिक जिम्मेवारीसँग जोड्नुपर्ने बताए । उनले भारत, श्रीलंका, अष्ट्रेलिया, अमेरिकालगायतका देशहरुको शिक्षा नीतिको उदाहरण दिंदै केवल कक्षाकोठाको पढाइले मात्र सफल जीवन जिउन पर्याप्त नहुने भन्दै सीप र व्यवहारिक ज्ञान मात्रले समाजमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने बताए ।

त्यस्तै जनसेवा प्रहरी बृत्त, न्युरोडका प्रमुख डिएसपी कृष्णकुमार चन्दले सूचनाप्रविधीको विकासले सामाजिक सञ्जालको प्रयोगमा व्यापकता ल्याएसँगै समाजमा साइबर अपराध बढिरहेको उल्लेख गर्दै विद्यार्थीहरुलाई समाजिक सञ्जालको प्रयोगका साथै स्मार्ट मोबाइल फोन चलाउँदा सावधानी अपनाउन सुझाव दिए । उनले विद्यार्थी अवस्थामै कानुनी चेतना, अनुशासन र नागरिक कर्तव्य सिकाउनु नै समाजिक अपराध नियन्त्रणका लागि दीर्घकालीन समाधान भएको धारणा राखे ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले पाठ्यक्रममै नैतिक शिक्षा समावेश गरी विद्यार्थीलाई संवेदनशील, समावेशी र जिम्मेवार नागरिक बनाउने आधार तयार गर्नुपर्नेमा जोड दिए । त्यसैगरी विद्यालयका प्रधानाध्यापक सोनी श्रेष्ठले शिक्षा प्रणालीलाई केवल परीक्षामुखी नभई मूल्य, नैतिकता र व्यवहारमा आधारित बनाउनुपर्ने आवश्यक्ता औंल्याइन् ।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका उपसचिव पुरुषोत्तम घिमिरे, काठमाडौं महानगरपालिकाका पूर्व शिक्षा अधिकारी रामप्रसाद सुवेदी, शान्ति निकुञ्ज स्रोत केन्द्रका स्रोत शिक्षक कमल भट्ट, विद्यालयका संस्थापक सदस्य तेजरत्न शाक्यलगायतले विद्यालय शिक्षालाई नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।


कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र संकायको स्नाकोत्तर तहमा सर्वोत्कृष्ट भई स्वर्णपदक हासिल गर्नुभएकी हिमालय माध्यामिक विद्यालयका पूर्व विद्यार्थी प्रतिभा पौडेललाई सम्मान गरिनुका साथै विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको पठन–पाठन सहज बनाउन योगदान पु¥याउने सहायक प्रधानाध्यापकलाई सम्मान गरिनुका साथै सम्पूर्ण शिक्षकलाई प्रशंसापत्र तथा दाताहरूलाई कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सोही विद्यालयका विद्यार्थीहरुले मनमोहक नृत्यहरु प्रस्तुत गरेका थिए ।