भद्रपुर ।
झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रवार राति बुद्ध एयरको विमान रन–वेमा चिप्लिएर दुर्घटना भएपछि जहाजका यात्रु उमेश मोक्तान तामाङले इमर्जेन्सी ढोका खोलिदिएर ५१ जना यात्रुको ज्यान बचाउनुभयो । १४ नम्बर सिटमा बसेका तामाङले जहाज ल्यान्ड हुने बेलामा गड्याङगुडुङ गरेर धुवाँको मुस्लोजस्तो देखिन थालेपछि इमर्जेन्सी ढोका खोलेको बताउनुभयो ।
साँझ ८ बजे काठमाडौंबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः१५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो उहाँको भनाइ छ । ‘एयर होस्टेज पनि आत्तिराख्नुभएको थियो मैले गएर इमर्जेन्सी ढोकालाई एक लात्ती दिएँ’, उमेशले भन्नुभयो– ‘सबै आत्तिएर रुने–कराउने भएपछि मैले केही न केही विकल्प अपनाउनुपर्छ भनेर एयर होस्टेजको आँखा छलेर ढोकामा लात्तीले दिएको हँु ।’
उहाँ अन्य यात्रुलाई सम्झँदै भन्नुहुन्छ– ‘रुने–कराउने गर्दै हुनुहुन्थ्यो, कसैले त टाउको झ्यालमा ठोकिरहनुभएको थियो । त्यो एकै मिनेटमा के भयो भयो, सबै कालो भएजस्तो भो जहाज नै गन्हायो । बाँचिन्छजस्तो लागेको थिएन, त्यसैले ढोकामा हानेको हुँ ।’ ‘मैले इमर्जेन्सी ढोका खोलेर बाँच्न सकिन्छ भन्ने ज्ञान पाएरै त्यसो गरेको हुँ । तर, मलाई ढोका खुल्छ जस्तोचाहिँ लागेको थिएन’ –उहाँको भनाइ छ । ल्यान्ड गर्दा जहाज एक ठाउँमा ठोकियो, ठोक्किएपछि एयर होस्टेजले नआत्तिनु नआत्तिनु भन्नुभयो ।
त्यसै गरी झापाको अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोमदेन पनि तामाङले इमर्जेन्सी ढोका लात्तीले हानेर सबैजनालाई बचाएको बताउनुहुन्छ । ‘पाँचथरको भाइ त्यहाँ थिएनन् भने हामीले थाहा नै पाएका थिएनौँ । एयर होस्टेजहरू पनि आतिसक्नुभएको थियो’, गोमदेनले भन्नुभयो– ‘धुवाँको मुस्लो भित्र पसिसकेको थियो निसासिएर सबैजना त्यहीँ मर्ने थियौँ ।’ भगवानजस्तो भएर भाइले बचाएको उहाँले जानकारी दिनुभयो ।
गोमदेनका अनुसार पछाडिपट्टिको ढोका एकजनाले फुटाएर केही यात्रु त्यहाँबाट पनि निस्केका थिए । गोमदेनले आकाशमा हुँदा पनि प्लेनले धेरै अरू बेलाभन्दा हल्लाएको महसुस गरेको दाबी गर्नुभयो । जहाज अवतरण हुँदै गर्दा धावन मार्गको मापन क्रस भइसकेकोले दूरी कम भएका कारण घटना भएको उहाँको भनाइ छ । जहाज खोल्सामा पसेपछि भाग्नेक्रममा अन्य यात्रु हामफाल्दा शरीरमा असर पुगेको उहाँले बताउनुभयो । घटना भएको एकघण्टाभन्दा बढी समयमा उद्धार कार्य भएको उहाँको आरोप छ । यात्रु जथाभावी छटपटाइरहँदा समेत टोली भने ढिला पुगेको उहाँको भनाइ छ ।
विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका थिए । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका थिए । घाइतेहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, बिर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, बिर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेको डीएसपी खड्काले जानकारी दिनुभयो ।
घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पु¥याएको थियो । घाइतेहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगीको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको उहाँले बताउनुभयो ।
दुर्घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रनवेको लम्बाई १ सय मिटर घटाएर शनिवार बिहानदेखि विमानस्थल पुनः सञ्चालनमा ल्याइएको विमानस्थल प्रमुख किशोरकुमार खत्रीले जानकारी दिनुभयो । भद्रपुर नगरपालिकाको एक्साभेटर प्रयोग गरी विमानलाई रनवेमा अवरोध नहुने गरी सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ ।
विमानस्थल कार्यालयका अनुसार दुर्घटनाको ठोस कारण अझै खुल्न सकेको छैन । दुर्घटनाको समयमा मौसम अनुकूल नै रहेको र प्राविधिक पक्षबारे छानबिन भएपछि मात्र वास्तविक कारण पत्ता लाग्ने बताइएको छ । हाल काठमाडौं–भद्रपुर र भद्रपुर–काठमाडौं रुटमा नियमित उडानहरू भइरहेका छन् ।











प्रतिक्रिया