ललितपुर।
ललितपुरका हस्तकला व्यवसायीहरूले हस्तकलाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन्। ललितपुर हस्तकला संघको शनिवार सम्पन्न १९औँ वार्षिक साधारणसभामा वक्ताहरूले स्थानीय तहको सक्रियता अपरिहार्य रहेको औँल्याएका हुन्।
संघका अध्यक्ष प्रदीप बज्राचार्यले हस्तकला सम्बन्धी ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय तहको सहयोग आवश्यक रहेको बताए। स्थानीय मेला–महोत्सवमा कालिगढ र कलाकारको सहभागिता हुँदै आएको उल्लेख गर्दै उनले स्पष्ट नीति तर्जुमा गरी त्यसको कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। पुस्तौँदेखि हस्तकला व्यवसायमा संलग्न कालिगढ र कलाकारको योगदानको कदर र पहिचान हुनुपर्ने उनको भनाइ थियो।
संघले वार्षिक कार्यक्रमअन्तर्गत खेर गएका प्लास्टिकका बोतलबाट कलात्मक सामग्री बनाउने तालिम सञ्चालन गर्दै आएको जनाएको छ। साथै, व्यवसायीको सीप अभिवृद्धि, धातुका मूर्तिको बजारीकरण, कालिगढ र कलाकारको सम्मान तथा महानगरपालिकाको स्रोत–साधनमा सञ्चालित कोसेली घरलाई व्यवस्थित गर्ने कार्य पनि निरन्तर भइरहेको संघले बताएको छ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले हस्तकला क्षेत्रको व्यवसाय र निर्यातमा रहेको योगदानलाई ध्यानमा राखी संघ, प्रदेश र स्थानीय तहले संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। स्थानीय तहले बनाएका नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनले औँल्याए।
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले व्यवसायीको क्षमता अभिवृद्धिका लागि स्थानीय तहले तालिम दिनुपर्ने र तालिमको माग तथा औचित्यको उचित मूल्यांकन हुनुपर्ने धारणा राखे। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यवसायीका सुझाव र एजेन्डालाई सरकार तथा स्थानीय तहले गम्भीरताका साथ लिनुपर्ने बताए।
सभाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका उपमेयरले हस्तकला र संस्कृति ललितपुरको पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र संवर्द्धनमा महानगरपालिकाको चासो रहेको बताए। व्यवसायीहरूले समस्या समाधान नभएसम्म निरन्तर पैरवी गर्नुपर्नेमा उनले आग्रह गरे।
सो अवसरमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, संघका महासचिव कपिल शाक्य, कोषाध्यक्ष कमला ताम्रकारलगायतले हस्तकला क्षेत्रका वर्तमान समस्या र भावी एजेन्डाबारे धारणा राखे। संघले भगीनी सम्बन्ध भएका स्वदेशी तथा विदेशी शहरमा हुने मेलामा ललितपुरका कलाकारको सहभागिता, स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणमा हस्तकला व्यवसायीलाई समावेश गर्ने तथा व्यवसायीको तथ्यांक संकलन गर्नुपर्ने माग पनि अघि सारेको छ।











प्रतिक्रिया