कांग्रेसभित्रको विवादबारे शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग छलफल


काठमाडौँ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिँदै गएको पछिल्लो विवादका विषयमा आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।

शनिबार काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितका नेता–कार्यकर्तासँग उनले अन्तरक्रिया गर्दै महाधिवेशन र पार्टीको वर्तमान अवस्थाबारे सुझाव संकलन गरेका हुन्।

विशालनगरस्थित सम्पर्क कार्यालयमा आयोजित छलफलमा पार्टीभित्र देखिएको द्वन्द्वको सुरक्षित अवतरण, वर्तमान विषम परिस्थितिको समाधान र मुलुकमा देखिएको समग्र संकटको निकासका विषयमा विचार–विमर्श भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनको विषयमा कसरी समन्वय गर्न सकिन्छ भन्ने विषय पनि छलफलको केन्द्रमा रहेको थियो।

‘यससँगै आगामी आम निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने उपाय र पार्टीभित्र देखिएका दुवै धारलाई एउटै सूत्रमा बाँध्ने सम्भावनाका बारेमा समेत छलफल भएको छ,’ थपलियाले बताए।

छलफलमा सहभागी नेताहरूले पार्टीको अनुशासन समितिबाट कारबाहीमा परेका नेताहरूलाई मिनाहापछि पुनः पूर्ववत् जिम्मेवारीमा कायम राख्ने व्यवस्था मिलाउन नेतृत्वले पहल गर्नुपर्ने माग राखेका थिए।