काठमाडौँ।
इरानमा बढ्दो मुद्रास्फीति र कमजोर बन्दै गएको आर्थिक अवस्थाविरुद्ध जारी विरोध प्रदर्शनका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीप्रति इरानले कडा कडा निन्दा गरेको छ। इरानको विदेश मन्त्रालयले ट्रम्पको अभिव्यक्तिलाई आफ्नो आन्तरिक मामिलामा ‘हस्तक्षेप’ भन्दै तीव्र निन्दा गरेको छ।
शुक्रबार ट्रम्पले इरानमा भइरहेको विरोध प्रदर्शनको सन्दर्भमा इरानी सरकारलाई चेतावनी दिँदै प्रदर्शनकारीहरूलाई सहयोग गर्ने संकेत गरेका थिए। उनले भनेका थिए, “यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाउँछ र उनीहरूलाई निर्ममतापूर्वक मार्छ, जुन उनीहरूको बानी हो, भने अमेरिका उनीहरूको उद्धारमा आउनेछ।”
यसप्रति प्रतिक्रिया दिँदै इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ट्रम्पको भनाइलाई गैरजिम्मेवार र खतरनाक करार गरेको छ। बीबीसी फारसी सेवाका अनुसार मन्त्रालयले भनेको छ, “यस प्रकारको गैरजिम्मेवार व्यवहार इरानप्रति अमेरिकाको धम्कीपूर्ण र गैरकानूनी नीतिको निरन्तरता हो। यो संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूको घोर उल्लङ्घन मात्र होइन, इरानी नागरिकविरुद्ध हिंसा र आतंकवादलाई उक्साउनु जस्तै हो।”
इरानले यस्तो अभिव्यक्तिले सम्पूर्ण क्षेत्रलाई थप अस्थिर बनाउने चेतावनी पनि दिएको छ। मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “यस्ता गतिविधिबाट उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी अमेरिकी सरकारको हुनेछ।”
इरानमा विगत छ दिनदेखि बढ्दो महँगी र बिग्रँदै गएको आर्थिक अवस्थाविरुद्ध देशका विभिन्न शहरहरूमा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कैयौँको ज्यान गएको छ भने ठूलो संख्यामा मानिसहरू पक्राउ परेका छन्।











प्रतिक्रिया