माघ १ गतेबाट पाँचौ राइनास कप, विजेतालाई पाँच लाख

846
Shares

लमजुङ। 

लमजुङको राइनास नगरपालिका ६ धमिलिकुवा स्थित गौलिटार क्षेत्रीय खेल मैदानमा यही माघ १ गतेदेखि राष्ट्रका लागि युवा र युवाका लागि खेलकुद भन्ने मूल नाराका साथ पाँचौ राइनास कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । राइनास नगरपालिकाको आर्थिक सहयोग र गौलिटार क्षेत्रीय खेलमैदान समितिको आयोजनमा प्रतियोगिता हुन लागिएको हो । 

प्रतियोगिताको प्रथम पुरस्कार नगद पाँच लाख कप, मेडल र प्रमाणपत्र रहेको छ । गत बर्ष प्रथम पुरस्कार तिन लाख रहेकोमा यस बर्ष बढाएर पाँच लाख पुर्याएको क्लबका अध्यक्ष टेकेन्द्रनाथ चिलुवालले जानकारी दिए । एक लाख ५० हजारबाट सुरु गरिएको प्रतियोगिता गत बर्षसम्म तिन लाख थियो भने यस बर्ष पाँच लाख पुर्यएको हो ।

प्रतियोगिताको द्वितीय पुरस्कार नगद दुई लाख ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र रहेको छ । गत वर्ष एक लाख ५० हजार रुपैयाँ रहेको यो पुरस्कारलाई यस वर्ष वृद्धि गरिएको हो । यसैगरी, अघिल्ला संस्करणमा सेमिफाइनलमा पुग्ने दुई टिमलाई ४०-४० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिँदै आएकोमा यस वर्ष उक्त पुरस्कारलाई कटौती गरिएको आयोजक क्लबका सचिव प्रदीप जंग गुरुङले जानकारी दिए ।

व्यक्तिगत विधातर्फ गत वर्ष सात हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिँदै आएको उत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार राशि यस वर्ष बढाएर १५-१५ हजार रुपैयाँ पु¥याइएको छ । साथै, प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी नगद दुई हजार रुपैयाँसहित मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल संचालनका लागि राइनास नगरपालिकाले हरेक वर्ष आठ लाख रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । यस वर्ष थप सहयोग प्राप्त हुने विश्वास आयोजकले लिएको छ।  प्रतियोगिताको सफलताका लागि विभिन्न संघसंस्था, स्थानीय तथा देश–विदेशमा रहेका व्यक्तिहरुबाट पनि सहयोग प्राप्त भएको अध्यक्ष चिलुवालको भनाई छ ।

प्रतियोगितामा सहभागी हुन पुस २५ गतेसम्म टिम दर्ता गर्न सकिनेछ भने दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । जिल्लाका कुनाकुनामा रहेका सीमित प्रतिभालाई प्रष्फुटीत गराई राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा पहिचान गराउने मञ्चको रुपमा स्थापित गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चिलुवालको भनाई छ । अध्यक्ष चिलुवालका अनुसार उक्त प्रतियोगितामा कम्तीमा १२ टिम सहभागी गराइने छ ।