मुम्बई।
बलिउड अभिनेता अक्षय खन्ना पछिल्लो समय एकपछि अर्को विवादमा तानिँदै गएका छन्। ‘दृश्यम–३’ बाट बाहिरिएको खबर सार्वजनिक भएसँगै उनीमाथि उठिरहेका प्रश्नहरू अझ चर्किँदै जाँदा अब फिल्म ‘सेक्सन ३७५’ का निर्देशक मनिष गुप्ताले सनसनीपूर्ण आरोप सार्वजनिक गरेका छन्।
बलिउड हङ्गामासँगको कुराकानीमा निर्देशक गुप्ताले सन् २०१७ मा भएको एक घटनालाई स्मरण गर्दै अक्षय खन्नाले व्यावसायिक मर्यादा उल्लंघन गरेको, सम्झौता तोडेको र आफ्नो सिर्जनात्मक मेहनतमाथि कब्जा जमाएको आरोप लगाएका हुन्।
मनिषका अनुसार अक्षय खन्नाले २ करोड भारु पारिश्रमिकमा फिल्म साइन गरेका थिए र त्यसबापत २१ लाख भारु एड्भान्स समेत बुझिसकेका थिए। तर, फिल्मको काम सुरु हुनै लाग्दा अक्षयले अचानक सेड्युल परिवर्तन गर्दै अर्को फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ का लागि लन्डन उडेपछि ‘सेक्सन ३७५’ को टिम करिब छ महिनासम्म कामविहीन भएर बस्न बाध्य भएको दाबी गरिएको छ।
निर्देशक गुप्ताका अनुसार, लन्डनबाट फर्किएपछि अक्षयले पुरानो सम्झौता अस्वीकार गर्दै एकाएक ३२.५ करोड भारु पारिश्रमिक माग गर्न थाले, जुन फिल्मको बजेट र समझदारीभन्दा धेरै बाहिरको माग थियो।
यति मात्र होइन, अक्षय खन्नाले फिल्मका हरेक निर्णयमा आफ्नो नियन्त्रण हुनुपर्ने अडान राखेको र निर्देशकको निर्देशन मान्न नचाहेको आरोप पनि मनिषले लगाएका छन्। जब निर्देशकले यसप्रति आपत्ति जनाए, तब अक्षयले निर्माता कुमार मंगतमाथि दबाब सिर्जना गरी निर्देशक नै परिवर्तन गराएको मनिषको दाबी छ।
मनिष गुप्ताका अनुसार, त्यसपछि उनलाई फिल्मबाट बाहिर निकालियो र उनले तीन वर्ष लगाएर तयार पारेको स्क्रिप्ट तथा प्रि–प्रोडक्सन सामग्री रहेको हार्ड ड्राइभ समेत जफत गरियो। विवाद थप चर्किँदै जाँदा अक्षय खन्नाले निर्मातालाई दुईवटा कानुनी नोटिस पठाउँदै अदालत तान्ने चेतावनी दिएका थिए। अन्ततः दुवै पक्षबीच कोर्टबाहिर सम्झौता भएको जनाइएको छ।
उल्लेखनीय छ, विवादका बीच नै फिल्म ‘सेक्सन ३७५’ सन् २०१९ मा रिलिज भएको थियो, जसमा अक्षय खन्ना र ऋचा चड्डाले मुख्य भूमिका निर्वाह गरेका थिए। पछिल्ला यी खुलासाले अक्षय खन्नाको व्यावसायिक छविमाथि गम्भीर प्रश्न उठाएको बलिउड वृत्तमा चर्चा सुरु भएको छ।











प्रतिक्रिया