इरानमा आर्थिक संकट चर्किँदै : चार दिनदेखि सरकारविरुद्ध उग्र प्रदर्शन, कम्तीमा ६ जनाको मृत्यु


काठमाडौं।

गहिरिँदो आर्थिक संकट र असह्य महँगीविरुद्ध इरानमा चार दिनदेखि सरकारविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ। दक्षिणी शहर फासा मा प्रदर्शनकारीहरूले सरकारी भवनमा आक्रमण गर्ने प्रयास गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ।

इरानी समाचार एजेन्सी मिजानका अनुसार प्रदर्शनकारीहरूले प्रान्तीय गभर्नर कार्यालयको मुख्य ढोका र सिसामा तोडफोड गरेका थिए। अवस्था नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्दा २० जना प्रदर्शनकारी पक्राउ परेका छन् भने १२ जना प्रहरी अधिकारी घाइते भएका छन्।

राजधानी तेहरानको सादी स्ट्रिट र ग्रान्ड बजार क्षेत्रमा व्यापारी र पसलेहरू सडकमा उत्रिएका छन्। धेरै स्थानमा पसलहरू बन्द हुँदा व्यापारिक गतिविधि ठप्प भएको छ। बजार बन्द र हड्तालका कारण दैनिक जीवन प्रभावित भएको छ।

यसैबीच, अर्धसैनिक संगठन बासीज फोर्सका एक सिपाहीसहित अन्य गरी कम्तीमा ६ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। मृत्युसँगै विभिन्न क्षेत्रमा तनाव झनै चर्किएको छ।

प्रदर्शनको मुख्य आधार बनेको जेन–जी पुस्ता अहिले देशभर आक्रोशित देखिन्छ। आर्थिक संकटले युवा पुस्तामा निराशा र असन्तुष्टि तीव्र बनाएको विश्लेषकहरूको भनाइ छ।

डिसेम्बर २०२५ मा इरानी मुद्रा रियाल प्रति अमेरिकी डलर करिब १४ लाख ५० हजार मा झरेर ऐतिहासिक न्यून विन्दुमा पुगेको थियो। वर्षको सुरुआतदेखि नै रियालको मूल्य झण्डै ५० प्रतिशतले घटिसकेको छ।

महँगी पनि अभूतपूर्व स्तरमा पुगेको छ। सरकारी तथ्यांकअनुसार खाद्यान्नको मूल्य ७२ प्रतिशत ले र औषधिको मूल्य ५० प्रतिशत ले वृद्धि भएको छ। त्यसमाथि सरकारले २०२६ को बजेटमा ६२ प्रतिशत कर वृद्धि गर्ने प्रस्ताव ल्याएपछि जनआक्रोश थप विस्फोटक बनेको छ।

तेहरानका विश्वविद्यालय र व्यावसायिक क्षेत्रबाट सुरु भएको विरोध अहिले धेरै शहरहरूमा फैलिएको छ। बजार बन्द, सडक प्रदर्शन र हड्तालले सरकारमाथि दबाब बढाएको छ।

प्रदर्शनकारीहरूले सर्वोच्च नेता अयातोल्लाह अली खामेनी लाई लक्षित गर्दै नारा लगाइरहेका छन्। उनीहरूले कट्टरपन्थी धर्मगुरुहरूको शासन अन्त्य र राजतन्त्र पुनःस्थापना को माग गरिरहेका छन्। सामाजिक सञ्जालमा फैलिएका केही भिडियोहरूमा निर्वासित युवराज रेजा पहलवी को समर्थनमा नारा लगाउँदै सत्ता हस्तान्तरणको माग गरिएको देखिन्छ।

राष्ट्रपति मसूद पेजेश्कियान ले परिस्थितिको जिम्मेवारी लिँदै प्रदर्शन पछाडि विदेशी हस्तक्षेप रहेको आरोप लगाएका छन्। उनले नागरिकहरूलाई संयम अपनाउन र राष्ट्रिय एकता कायम राख्न अपील गर्दै भने, “विदेशी शक्तिहरू इरानभित्र विभाजन सिर्जना गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका छन्।”

उल्लेखनीय छ, १९७९ को इस्लामिक क्रान्ति पछि अयातोल्लाह रुहोल्लाह खोमेनी सत्तामा आएका थिए। उनले १९७९ देखि १९८९ सम्म सर्वोच्च नेताको रूपमा शासन गरे। त्यसपछि उनका उत्तराधिकारी अयातोल्लाह अली खामेनी १९८९ देखि लगातार ३७ वर्षदेखि सत्तामा छन्।

हाल इरान आर्थिक संकट, उच्च मुद्रास्फीति, अन्तर्राष्ट्रिय प्रतिबन्ध, बेरोजगारी, मुद्राको अवमूल्यन र बारम्बार हुने जनआन्दोलन जस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। पछिल्लो आन्दोलनले देशको राजनीतिक स्थायित्वमाथि गहिरो प्रश्न उठाएको विश्लेषकहरू बताउँछन्।