काठमाडौं।
पछिल्ला वर्षहरूमा यूके अध्ययनतर्फ नेपाली विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको छ। तर यूकेमा पार्ट–टाइम रोजगारीको कठिनाइ, बढ्दो जीवनयापन खर्च र सीमित आम्दानीका कारण धेरै नेपाली विद्यार्थी आर्थिक दबाबमा परिरहेको भन्दै शिक्षा विज्ञहरूले अभिभावकलाई अध्ययन निर्णयमा सचेत हुन आग्रह गरेका छन्।

शैक्षिक सञ्चार माध्यम जुपिटर मिडिया प्रा.लि. द्वारा उत्पादन गरिएको ‘डेस्टिनेसन यूके’ कार्यक्रममार्फत सार्वजनिक तथ्यअनुसार, यूके अध्ययन अब केवल ट्रेन्ड नभई गहिरो आर्थिक योजना र दीर्घकालीन सोच आवश्यक पर्ने निर्णय बनेको छ।विज्ञहरूका अनुसार “सबै खर्च पार्ट–टाइम कामबाटै धानिन्छ” भन्ने बुझाइ अहिलेको अवस्थामा व्यवहारिक छैन।
जुपिटर मिडिया र बिज एजुकेशनले संयुक्त रूपमा जारी गरेको सन्देशमा यूके अध्ययनका लागि पहिलो वर्षको ट्युसन, आवास, खानपान, यातायात र आकस्मिक खर्च धान्न सक्ने स्पष्ट आर्थिक स्रोत अनिवार्य रहेको उल्लेख छ। कर्जा, गहना धितो वा सम्पत्ति बिक्रीजस्ता निर्णय लिनुअघि जोखिमको यथार्थ मूल्याङ्कन गर्न अभिभावकलाई आग्रह गरिएको छ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार अपर्याप्त बजेटका कारण धेरै विद्यार्थी मानसिक तनावमा परिरहेका छन्, जसले उनीहरूको शैक्षिक नतिजा र स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। त्यसैले भर्ना र भिसा प्रक्रिया मात्र होइन, विद्यार्थीको दीर्घकालीन जीवन र करियरलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने उनीहरूको सुझाव छ।
यसै सन्दर्भमा जुपिटर मिडिया प्रा.लि. ले “बिज एजुकेशन प्रस्तुत डेस्टिनेसन यूके – सिरिज २” को ग्राण्ड स्क्रिनिङ कार्यक्रम एभरेष्ट होटल, नयाँ बानेश्वरमा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा शीर्ष प्रायोजक बिज एजुकेशन तथा पावर्ड–बाइ साझेदार रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सी रहेको थियो।
कार्यक्रममा बाङ्गर विश्वविद्यालय, ब्रिटिश काउन्सिल, विभिन्न यूके विश्वविद्यालयका प्रतिनिधि, वरिष्ठ शिक्षा विज्ञ तथा शैक्षिक परामर्शदाता सहभागी थिए।
सिरिज २ ले यूके विश्वविद्यालयको वास्तविक अवस्था, क्याम्पस जीवन, विद्यार्थी अनुभव र शैक्षिक वातावरणलाई केन्द्रमा राख्दै जिम्मेवार शिक्षा सञ्चार गर्ने लक्ष्य लिएको जनाइएको छ।

कार्यक्रममा बोल्दै जुपिटर मिडियाका प्रबन्ध निर्देशक सुनिल आचार्यले डेस्टिनेसन यूके प्रचारात्मक नभई जिम्मेवार शिक्षा पत्रकारिताको अभियान भएको उल्लेख गरे।“यूके अध्ययन अघि आर्थिक योजना र वास्तविक अवस्था बुझ्न जरुरी छ। पार्ट–टाइम काम सहज नहुन सक्छ, त्यसैले तयारी बिना विदेश जानु जोखिमपूर्ण हुन्छ,” उनले भने।
कार्यक्रममा डेस्टिनेसन यूके – सिरिज २ सम्बन्धी आधिकारिक म्यागेजिन र ट्रेलर सार्वजनिक गरिएको थियो। साथै ब्रिटिश काउन्सिल र बाङ्गर विश्वविद्यालयका प्रतिनिधिले यस्ता यथार्थपरक मिडिया पहलले नेपाल–यूके शैक्षिक सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गरे।
शीर्ष प्रायोजक बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले विदेश अध्ययन नै एकमात्र विकल्प नभएको उल्लेख गर्दै आर्थिक रूपमा तयार नभए नेपालमै गुणस्तरीय शिक्षा लिएर सुरक्षित रूपमा अन्तर्राष्ट्रिय अवसरतर्फ अघि बढ्न सकिने धारणा राखे।
कार्यक्रमको अन्त्य साझेदार सम्मान, नेटवर्किङ तथा डिनरसँगै सम्पन्न भयो।
डेस्टिनेसन यूके – सिरिज २ मार्फत जुपिटर मिडिया, बिज एजुकेशन, बाङ्गर विश्वविद्यालय, रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सी र ब्रिटिश काउन्सिलले नेपाली विद्यार्थी र अभिभावकलाई पर्याप्त आर्थिक योजना, गहिरो अनुसन्धान र यथार्थपरक सोचपछि मात्र यूके अध्ययन रोज्न आग्रह गरेका छन्।











प्रतिक्रिया