काठमाडौं।
काठमाडौं महानगरपालिका प्रहरी बलले राष्ट्रिय संगहालय छाउनीको जग्गामा डोजर चलाएको छ । महानगर प्रहरीले बिहीबार बिहान संग्रहालयको जग्गामा डोजर चलाएको हो । डोजर आतंक भएपछि संग्रहालय प्रशासनले बुधबार प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटीमा क्षतिपूर्ति र सुरक्षाको माग गर्दै पत्र पठाएको छ ।
संग्रहालय प्रमुख अरुणा नकर्मीद्वारा हस्ताक्षरित पत्रमा राष्ट्रिय संग्रहालय छाउनीको स्वामित्वमा रहेको महेन्द्रस्मृति संग्रहालयको दक्षिण–पूर्वको बाटो किनारमा अवस्थित १ रोपनी ८ आना १ पैसा जग्गामा रहेको संग्रहालयको सुरक्षा र सरसफाइ कार्यसँग सम्बन्धित कर्मचारीहरूले आवासको रूपमा प्रयोग गरिरहेको तीनवटा आवासगृहको कम्पाउन्ड भत्काएको उल्लेख गरिएको छ ।
कामपा प्रहरीबलले यस कार्यालयलाई कुनै पनि औपचारिक जानकारी नगराई यस कार्यालयको तर्फबाट प्रमाणहरू उल्लेख गर्दै पटकपटक लेखिएको पत्रलाई समेत बेवास्ता गरेको आरोप संग्रहालयको छ । कामपा प्रहरीबलले बुधबार बिहान ८ बजे कम्पाउन्ड र कर्मचारीको निजी सम्पत्तिमा क्षति पु¥याएको आरोप छ ।
पत्रमा क्षति पु¥याउनेमाथि क्षति भएका सबै सम्पत्तिको क्षतिपूर्ति भराई उक्त कार्यमा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न अनुरोध गरिएको छ ।
साविक टंकेश्वर गाविस ०९ ख को कित्ता ४९, ५०, ६२, ६३ र ६५ को जग्गा राष्ट्रिय संग्रहालय छाउनीअन्तर्गत महेन्द्र स्मृति संग्रहालयको नाममा जग्गा धनीपुर्जा छ । हाल संग्रहालयले ९ दिनअघि अर्थात् पुस ७ आफ्नो नाममा धनीपुर्जा बनाइसकेको छ । आफ्नो नाममा पुर्जा रहेको जग्गा र त्यसमा बनेको टहरामा जानकारी नदिई डोजर चलाएपछि संग्रहालय कानुनी उपचारमा जाने तयारी गरेको छ ।
उच्चस्रोतका अनुसार कामपा सुशासन समितिको ०८२ असार ६ गतेको बैठकले विद्यालयको उपयोगका लागि सरकारी दर्ता बाँकी रहेको जग्गामा डोजर चलाउने निर्णय गरेको थियो । समितिका सभापति एवं कामपा २६ का अध्यक्ष ख्यामराज तिवारीको अध्यक्षतामा बैठक बसेको थियो । संग्रहालयसँगै रहेको पञ्चकन्या माविले उक्त जग्गा भोगचलन गर्न आग्रह गर्दै वडा नं १३ ले सिफारिससहितको पत्र पठाएपछि सोही आधारमा समितिको बैठकले भत्काउने निर्णय गरेको थियो ।
कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले समितिको निर्णयको आधारमा उक्त जग्गामा डोजर चलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘महानगरको निर्णय कार्यान्वयन गरेका हौं, मनपरी भत्काएका होइनांै ।’
संग्रहालयले प्रशासनले हाल कित्ता नं ७७० को जग्गाको सँधियारले राष्ट्रिय संग्रहालय छाउनीलाई प्रतिवादी बनाएको जग्गा खिचलोसम्बन्धी मुद्दामा फैसला गरी १ आना जति जग्गा कटाइदिन प्रतिवादीको नाममा आदेश दिएको थियो । सो फैसलाको कार्यान्वयनसमेत भइसकेको अवस्थामा उक्त जग्गा राष्ट्रिय संग्रहालयको स्वामित्वमा रहेको प्रमाण भइसकेको जनाएको छ । संग्रहालय प्रमुख नकर्मीले अदालतको आदेशको बर्खिलाफमा कामपाले डोजर चलाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘कामपाले न हामीलाई पत्र दिएको छ, न त औपचारिक जानकारी नै । तीनदिनअघि माइकिङ गरेको भनेर एकाएक डोजर चलाएर आतंकित बनाएको छ ।’
यसअघि काठमाडौं महानगरको प्रहरीले राष्ट्रिय संग्रहालयसँग कुनै औपचारिक समन्वय नगरी महिला कर्मचारीहरूलाई आतंकित पार्ने कार्य गरेको उल्लेख गर्दैै सो विषयमा र महानगरलाई पटकपटक पत्राचार गरी संग्रहालयको स्वामित्वमा रहेको, हकभोगको जमिन र आवासीय संरचनाहरू नभत्काउन र कर्मचारीहरूलाई आवास खाली गर्न भनी धरपकड नगर्न आग्रह गरी पत्राचार गरेको संग्रहालयले जनाएको छ ।
कामपाले मौखिक जानकारी गराएपछि पुरातत्व विभाग प्रमुख शौभाग्य प्रधानाङ्गले कामपाका उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इं र मेयरका स्वकीय सचिव भूपदेव शाहलगायतलाई नभत्काउन आग्रह गर्नुभएको थियो । ‘करिब एक महिनाअघि भएको कुराकानीमा नभत्काउने जनाएको थियो, आज एकाएक डोजर लगाएर तहसनहस बनाएको छ’ –विभागका महानिर्देशक प्रधानाङ्गले भन्नुभयो । यसअघि संग्रहालयले १२ गते कामपालाई पत्राचार गरी नभत्काउन आग्रह गरेको थियो ।
कार्यालयले पटकपटक पत्राचार गर्दासमेत त्यसलाई बेवास्ता गरी औपचारिक सम्पर्कमा नआई बलजफ्ती वडाध्यक्ष र महानगर प्रहरीको डीएसपी शिव पौडेलसमेतको संलग्नतामा कार्यालयका कर्मचारीले प्रयोग गरिरहेको आवासीय संरचनाहरूमा क्षति पु¥याउनुका साथै कर्मचारीहरूलाई मानसिक रूपमा आतंकित पारिएको छ –संग्रहालय प्रशासनले जारी गरेको पत्रमा उल्लेख गरेको छ ।











प्रतिक्रिया