समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउँदै आयोग

376
Shares

काठमाडौं।

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गरी समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने कार्य अघि बढाएको छ ।
विगतका निर्वाचनहरूमा झैं दलहरूले सुरुमा समानुपातिक सूची बुझाउँदा नमिलाईकन ल्याउने पछि सच्याउने क्रम यसपटक पनि दोहोरिएको छ । यही फागुन २१ हुने प्रतिनिधिसभाका लागि विभिन्न राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको सूची आयोगमा बुझाएका थिए । सूची बुझाउन आयोगले पुस १३ र १४ को समय दिएको थियो । दलहरूले अन्तिम समयमा पनि समानुपातिक सूची बुझाएकाले ऐन, नियमबमोजिम कयौं त्रुटिहरू रहेकाले त्यसलाई सच्याउन समय दिइएको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन निर्देशिका २०८२ को दफा २० मा उम्मेदवारको बन्दसूची सच्याउन दललाई सूचित गर्ने भनिएको छ । जसअनुसार निर्वाचन अधिकृतले उम्मेदवारको बन्दसूची जाँचबुझ गर्दा समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा तयार भए–नभएको वा अन्य रित पुगे–नपुगेको यकिन गरी त्यस्तो रित पुगेको नपाइएमा सम्बन्धित दललाई सो सूची सच्याउन सूचित गर्नुपर्छ । सोही प्रावधानअनुसार उम्मेदवारीको सूचीमा नाम नमिलेको, हिज्जे नमिलेको समावेशीको कोटा नमिलेको खण्डमा दलहरूलाई बोलाएर सच्याउने क्रम चलिरहेको आयोगले जनाएको छ ।

आयोगले सूची सच्याउँदा क्रमसंख्या हेरफेर गर्ने कार्यलाई कडाइ गरेको छ । क्रमसंख्या हेरफेरका विषयमा ऐनले नबोलेको हुनाले राजनीतिक दलहरूले विगतमा समानुपातिकतर्फ कतिपयको उम्मेदवारको सुनिश्चित गर्न क्रमसंख्या हेरफेर गर्ने गर्दथ्यो । यसपटक पनि त्यसो गर्नसक्ने सम्भावनालाई मध्यनजर गरी आयोगले कडाइ गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

‘निर्वाचित गराउँदा अपांगता र पिछडिएको क्षेत्र क्रम मिचेर ल्याउन पाइयो । तर, अरूमा अन्तिम बन्दसूचीअनुसार नै हुन्छ । हेरफेर गर्न पाइँदैन । विगतमा के भयो त्यो त्यतिबेलाको कुरा हो । आयोगले कानुनअनुसार नै गरेको थियो । अहिले हामी कडाइका साथ कानुनबमोजिम गर्छौं । आफूखुसी हुन दिँदैनौं । त्यस्तो गर्न मिल्दैन । समावेशी समूह र क्रम संख्याअनुसार नै कार्यान्वयन गराउँछौं’ – उहाँले भन्नुभयो ।

आयोगले पेस भएका सूचीको छानबिन गरी नमिलेको खण्डमा राजनीतिक दलहरूलाई पालैपालो बोलाएर सच्याउने कार्य गरिरहेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार १२ दलका प्रतिनिधिको रोहवरमा र बिहीबार पनि १२ दलसँग छलफल गरिएको छ । आयोगले यही पुस २० गते पत्राचार गरी सूची सच्याउने आग्रह गर्ने तयारी गरिरहेको छ ।

प्रतिनिधिसभामा १ सय ६५ सदस्यको प्रत्यक्ष र १ सय १० सदस्यको चयन एक समानुपातिक निर्वाचन प्रणलीद्वारा गरिन्छ । १ सय १० सिटमा हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्द सूची बुझाउँदा खसआर्य ३३, आदिवासी जनजाति ३२, मधेसी १८, दलित १५, थारू ७, मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा बुझाउनुपर्ने हुन्छ । समग्रमा ५० प्रतिशत महिला हुनुपर्छ ।

आयोगले यही पुस २१ गतेदेखि २७ गतेसम्म पेस भएको विवरण मिलाउन दललाई समय दिनेछ । यही पुस २८ गतेदेखि आगामी माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशन गरिने छ ।