काठमाडौं।
महाधिवेशन गर्ने कि नगर्ने भन्ने आन्तरिक लडाइँमै अल्झिँदै आएको नेपाली कांग्रेस अहिले गम्भीर अस्तित्व संकटको मोडमा उभिएको छ । गुट–उपगुटको कोपभाजनमा परेको कांग्रेसको भविष्य के हुने भन्ने प्रश्न पार्टीभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमा समेत गहिरिँदै गएको छ ।
मुलुकमा चुनावी वातावरण क्रमशः तीव्र बन्दै गएको बेला कांग्रेसभित्रको शक्ति संघर्ष झनै चर्किएको छ । एकातिर सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले चुनाव पछिमात्रै महाधिवेशन गर्ने अडान लिएको छ भने अर्कोतिर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको संस्थापनइतर समूह चुनावअघि नै महाधिवेशन गर्नुपर्ने मागसहित खुला रूपमा मैदानमा उत्रिएको छ ।
फागुन २१ नजिकिँदै गएको सन्दर्भमा संस्थापन पक्षले चुनावलाई प्राथमिकता दिँदै महाधिवेशनपछि गर्ने रणनीति लिएको छ । तर, महामन्त्रीद्वयले भने नेतृत्वले महाधिवेशनलाई निरन्तर टार्दै आएको आरोप लगाउँदै आएको छ । नियमित महाधिवेशनको स्पष्ट कार्यतालिका, तयारी र इच्छाशक्ति नदेखिएपछि विशेष महाधिवेशनको विकल्पमा जानुपर्ने अवस्था आएको महामन्त्री गगन थापाको तर्क छ ।
महामन्त्री थापाले नेपाल समाचारपत्रसँग कुरा गर्दै संस्थापन पक्षले नियमित र आकस्मिक दुवै प्रकारका महाधिवेशनप्रति चासो नदेखाएपछि पुस महिनाभित्रै विशेष महाधिवेशन गर्ने गरी आह्वान गरिएको बताउनुभयो । यही तयारीस्वरूप महामन्त्रीद्वयको निर्देशनमा पुस २७ र २८ का लागि भृकुटीमण्डपको हल बुकिङ गर्नुका साथै संयुक्त विज्ञप्ति समेत निकालेका छन् ।
तर, संस्थापन पक्षले महामन्त्रीहरूको यो कदमलाई असान्दर्भिक भन्दै अस्वीकार गरेको छ । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले महाधिवेशनसम्बन्धी विवादलाई ‘बेमौसमी बाजा’को संज्ञा दिँदै फागुन २१ पछिमात्रै नियमित महाधिवेशन हुने स्पष्ट पार्नुभएको छ ।
नेपाल समाचारपत्रसँग कुरा गर्दै महतले भन्नुभयो– ‘उहाँहरू जिम्मेवारीमा हुनुहुन्छ । आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न नसक्ने अनि विशेष महाधिवेशन माग्ने कुरा मिल्दैन । पार्टीले नियमित महाधिवेशनको कार्यतालिका ल्याइसकेको अवस्थामा विशेष महाधिवेशन हुँदैन ।’
महामन्त्रीद्वय विशेष महाधिवेशनको बाटोमा अघि बढ्दा पार्टी विभाजनतर्फ त जान लागिरहेको छैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– ‘हामी विभाजनको पक्षमा छैनौ । महामन्त्रीहरूले के चाहनुभएको हो, उहाँहरूले नै भन्नुहोला ।’
उहाँका अनुसार संस्थापन पक्षको लक्ष्य चुनावअघि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु हो । चुनावअघि महाधिवेशनमा जाँदा पार्टीलाई क्षति हुन्छ । हामी एकताबद्ध पार्टी बनाएर चुनावमा जान चाहन्छौं ।
तर, संस्थापनइतर पक्ष भने चुनावको बहानामा महाधिवेशनलाई अनिश्चितकालसम्म धकेल्ने रणनीति भइरहेको दाबी गर्दै आएको छ । कुनै पूर्वाधार नै खडा नगरी चुनावपछि महाधिवेशन भन्ने तर्कले पार्टीलाई अन्योल र आन्तरिक अस्थिरतामा धकेलेको उनीहरूको आरोप छ ।
यो आन्तरिक किचलो कांग्रेसका लागिमात्र सीमित छैन । पुराना दलप्रति वितृष्णा फैलाउन सक्रिय नयाँ दलका नेता तथा कार्यकर्ताका लागि कांग्रेसभित्रको यो शक्ति संघर्ष प्रभावकारी ‘राजनीतिक मसला’ बनेको छ । कांग्रेस कमजोर हुँदा त्यसको प्रत्यक्ष लाभ नयाँ दलहरूले उठाइरहेका छन् भन्ने बुझाइ राजनीतिक वृत्तमा बलियो बन्दै गएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार अहिले कांग्रेसभित्र देखिएको विवाद व्यक्तिविशेषको टकराबभन्दा पनि पार्टीको नेतृत्व, आन्तरिक लोकतन्त्र र भविष्यको दिशासँग जोडिएको गम्भीर संकट हो । महाधिवेशनलाई प्रतिष्ठाको विषय बनाउँदै दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा पार्टी कतै दीर्घकालीन विभाजनतर्फ त धकेलिँदै छैन भन्ने चिन्ता बढ्दै गएको छ ।
यदि, यही अन्योल, शक्ति संघर्ष र संवादहीनता लामो समयसम्म जारी रहिरह्यो भने कांग्रेसले आगामी चुनावमा मात्र होइन, दीर्घकालीन रूपमा पनि ठूलो राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । महाधिवेशन कांग्रेसका लागि संगठन सुदृढ गर्ने अवसर बन्ने कि पार्टीलाई अझ कमजोर बनाउने कारक, अबको राजनीति यही निर्णायक प्रश्न वरिपरि घुमिरहेको छ ।











प्रतिक्रिया