च्याउको आयात प्रतिस्थापन हुँदै


– नेपालमा ११५० प्रजातिका च्याउ उपलब्ध
– १ सय ४७ प्रजातिका मात्रै खानयोग्य
– देशभर ३५ हजार च्याउ किसान
– जीडीपीमा च्याउको योगदान ०.१५ प्रतिशत

काठमाडौं ।

आन्तरिक उत्पादनले माग धान्न नसक्दा नेपालमा विदेशबाट वार्षिक करोडौं रुपियाँ बराबरको च्याउ आयात हुने गरेको छ । पछिल्ला वर्षहरूमा च्याउ खेती तीव्र रूपमा विस्तार भए पनि उत्पादनले बजारको माग पूर्ण रूपमा धान्न सकेको छैन । यसका कारण भारत, चीन, थाइल्यान्डलगायतका देशबाट च्याउ आयात भइरहेको छ, जसमध्ये होटल तथा रेस्टुराँ क्षेत्रमा प्रयोग हुने डिब्बाबन्द च्याउको आयात बढी छ ।

यसैक्रममा सरकारले औपचारिक रूपमा ’राष्ट्रिय च्याउ दिवस’ मनाउन सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष ११ पुसमा गरेको निर्णयअनुसार हरेक वर्ष १५ पुसलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाइने छ । पहिलो दिवसको अवसरमा कृषिमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उपभोग बढाएर आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री परियारका अनुसार, नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा च्याउ खेतीको योगदान ०.१५ प्रतिशत छ । हाल देशभरि करिब ३५ हजार किसान प्रत्यक्ष रूपमा च्याउ खेतीमा संलग्न छन् । नेपालमा १ हजार १ सय ५० प्रजातिका च्याउ पाइन्छन्, जसमध्ये १ सय ४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १ सय प्रजाति विषालु छन् ।

पछिल्लो समय नेपाल च्याउ उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ को तथ्यांकअनुसार, च्याउ व्यापारमा नेपालले नाफा कमाएको देखिन्छ । उक्त वर्ष २ हजार २ सय ६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात हुँदा ६ लाख ७१ हजार रुपियाँ खर्च भएको थियो ।

तर, नेपालबाट १७ हजार १ सय ९८ किलो च्याउ निर्यात भएर १ करोड १ लाख रुपियाँ आम्दानी भएको छ, जसमा सुकाएको च्याउको निर्यात बढी छ । भन्सार विभागका अनुसार, आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म च्याउ आयातमा उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा बढी ७८२ टन च्याउ आयात भएको थियो, जसमा २३ करोड ८५ लाख ६० हजार रुपियाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा ९० टनमा सीमित भएको आयातका लागि ३ करोड ४२ लाख ४५ हजार रुपियाँ मात्र खर्च भयो । आर्थिक वर्ष २०८१÷८२ मा भने आयात झनै घटेर ३९ टन पुगेको छ, जसमा २ करोड ६६ लाख ३५ हजार रुपियाँ बाहिरिएको छ ।