सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न


काठमाण्डौं
सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २३ औँ वर्ष सफलतापूर्वक पूरा गरेको छ । बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा नक्सालस्थित प्रधान कार्यालय भवनमा का.मु. प्रमुख कार्यकारी अधिकृतसहित बैंकका कर्मचारीको उपस्थितिमा औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरिएको हो ।

वार्षिकोत्सवलाई भव्य तथा अर्थपूर्ण बनाउने उद्देश्यले बैंकले विभिन्न आन्तरिक तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू आयोजना गरेको छ । यसअन्तर्गत बैंकका कर्मचारीबीच फुटसल प्रतियोगिता, टेबल टेनिसलगायतका खेलकुद कार्यक्रम सम्पन्न गरिएका छन् ।

साथै, बैंकमा कार्यरत रहँदै १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीको योगदानको कदर गर्दै सम्मान कार्यक्रम पनि आयोजना गरिएको छ । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिद्धार्थ बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको छ । बैंकका अनुसार विराटनगर, दमक, वीरगञ्ज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी ११ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक महानुभाव तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ। कार्यक्रममा ४३४ पुरुष र ५४ महिला गरी जम्मा ४८८ जनाले रक्तदान गरेका छन्, जसले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काएको छ ।