यो घटना केवल एउटा खेलाडीको सफलताको मात्र होइन, मातृत्व र दृढताको सङ्घर्षको प्रतिनिधित्व पनि हो । सन् १९४८ को लन्डन ओलम्पिक खेलकुद, जहाँ दोस्रो विश्वयुद्धपछि पहिलोपटक विश्व खेलकुदको महाकुम्भ पुनः सुरु हुन गइरहेको थियो । जहाँ एक जना व्यक्ति आफ्नो सङ्घर्ष र विजयका कारण सधैंका लागि इतिहासमा अमर भए । उनी थिइन्, नेदरल्यान्ड्सकी फ्यानी ब्ल्यान्कर्स–कोएन । ३० वर्षको उमेरमा, एक विवाहित महिला र दुई सन्तानकी आमा, जसलाई समाजले ‘धेरै बुढी’ भन्दै अस्वीकृत गरिरहेको थियो । बेलायतीहरूले उनलाई ओलम्पिकको प्रतिस्पर्धामा योग्य नभएको भन्दै थिए । अर्कोतर्फ ठूलो संख्यामा रहेका आलोचकहरूले उनलाई ‘घरमै बसेर बच्चाको हेरचाह गर्न’ र ‘साना उमेरका युवतीहरूसँग प्रतिस्पर्धा गरेर इज्जत नफाल्न’ भन्ने सुझाव दिइरहेका थिए । तर, फ्यानीले सबैको आलोचना र अस्वीकृतिलाई नकार्दै आफ्नो सपना पूरा गर्न थालिन् । उनको लक्ष्य केवल प्रतिस्पर्धा गर्नु थिएन, बरु ट्रयाक एन्ड फिल्डको इतिहासमा सबैभन्दा शानदार ओलम्पिक प्रदर्शन गर्नु थियो ।
युद्ध र सामाजिक अशान्तिकाबीच, जब महिलाहरूको स्थान परिवार र घरमा मात्र सीमित थियो, फ्यानीले आफ्नो महत्वाकांक्षा र इच्छालाई सशक्त रूपमा पस्किदैं बलियो चुनौतीको सामना गरिन् । सन १९४६ को युरोपेली च्याम्पियनसिपमा उनले १ सय मिटर दौडमा पराजय भोगेकी थिइन् र हाई जम्पमा पनि चौथो स्थानमा सीमित भएकी थिइन् । तर, यो हारले उनी तल झर्नुभन्दा पनि एक नयाँ उचाइको दिशा प्रकट गर्दै थप बलियो र प्रतिबद्ध बनिन् । त्यसको अर्को दिन उनले ८० मिटर हर्डल्समा स्वर्ण जितिन् र रिलेमा आफ्नो टोलीलाई जित दिलाउन योगदान गरिन् ।

लन्डन ओलम्पिकमा फ्यानीको लक्ष्य चारवटा स्वर्ण जित्नु थियो । त्यही भएर उनले चार प्रमुख स्पर्धा चयन गरिन्, १ सय मिटर, २ सय मिटर, ८० मिटर हर्डल्स र ४ सय मिटर रिले । आठ दिनको अवधिमा उनले आफ्नो क्षमता र दृढता प्रमाणित गर्दै इतिहास रचिन । २ अगष्ट १९४८ मा, पानीले भिजेको ट्रयाकमा १ सय मिटर दौड ११.९ सेकेन्डमा पूरा गर्दै उनले पहिलो स्वर्ण जितिन् । दुई दिनपछि, ८० मिटर हर्डल्समा बेलायती मोरेन गार्डनरसँग कडा प्रतिस्पर्धा गर्दै फोटो फिनिशमा उनले अर्को स्वर्ण जितिन् । ६ अगष्टमा, थकित भए पनि उनले पतिको प्रेरणाले २ सय मिटर दौड २४.४ सेकेन्डमा पूरा गर्दै तेस्रो स्वर्ण जितिन् । अन्ततः ७ अगस्टमा, ४ सय मिटर रिलेमा उनले आफ्नो टोलीलाई अर्को स्वर्ण दिलाउन सफल भइन् ।
उनको अविस्मरणीय प्रदर्शनले उनलाई ‘उड्ने गृहिणी’ उपनाम दिलायो । जसले उनकै सामाजिक र खेलकुद भूमिकाबीचको सन्तुलनलाई संकेत गर्छ । ३० वर्षको उमेरमा चार ओलम्पिक स्वर्ण जितेर फ्यानीले महिला एथ्लीटहरूको लागि एक नयाँ युगको सुरुवात गरिन् । जब उनी आफ्नो देश नेदरल्यान्ड्स फर्किइन्, त्यहाँ उनका लागि भव्य स्वागत कार्यक्रम आयोजना गरियो । आम्स्टर्डमका सडकमा चारवटा घोडासहितको बग्गीमा राखेर उनलाई सहर परिक्रमा गराइयो । अनि महारानी जुलियानाले उनलाई ‘नाइटहुड‘ सम्मान प्रदान गरिन् ।
तर, फ्यानीको सफलता केवल व्यक्तिगत उपलब्धिको कुरा मात्र थिएन । यो सामाजिक धारणामा भएको क्रान्तिको परिणाम पनि थियो । उनले सावित गरिदिइन् कि महिलाहरूको शक्ति र क्षमता केवल परिवार र घरका परिधिहरूमा सीमित छैन, उनीहरूले पनि आफ्नो महत्वाकांक्षालाई पूरा गर्न सक्छन् र ठूलो सफलता हासिल गर्न सक्छन् भनेर । फ्यानी ब्ल्यान्कर्स–कोएनले समाजलाई एउटा महत्वपूर्ण सन्देश दिइन् । “कुनै पनि लेबलबिना महिला महान् एथ्लीट हुन सक्छिन् र कसैलाई पनि आफ्नो उत्कर्षको समय सकिएको भन्न दिनुहुँदैन ।” उनको यो भनाइ र समर्पणले महिलाहरूलाई नयाँ सम्भावनाहरूको ढोका खोलिदियो । फ्यानीलाई इतिहासमा एक क्रान्तिकारी महिलाको रूपमा सम्झिन्छ । जसले आफूलाई मातृत्व र खेलकुदबीचको सन्तुलन मिलाएर शिखरमा पु¥याइन् ।











प्रतिक्रिया