सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता


काठमाडौँ
सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज डिल्लीबजार, काठमाडौंमा आयोजित एक समारोहका बीच उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि होटल पार्क ल्याण्ड लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।

विगत १८ वर्षदेखि आतिथ्य सेवा क्षेत्रमा क्रियाशील होटल पार्क ल्याण्ड लिमिटेड चितवन जिल्लाको सौराहामा अवस्थित छ । हाल ३२ कट्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ३२ वटा सुविधा सम्पन्न कोठाहरू सञ्चालनमा रहेका छन्। होटल सौराहा गैडाचोकबाट करिब ३ सय ५० मिटरको दूरीमा रहेको छ ।

कम्पनीले आगामी दिनमा आफ्नो क्षमता विस्तार गर्ने योजना अनुरूप होटलको क्षेत्रफल बढाई ४४ कट्ठा पु¥याई १ सय ५ कोठा निर्माण गरी ४ तारे स्तरको होटलमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । यस सार्वजनिक निष्काशनमार्फत संकलन हुने पूँजी होटल विस्तार, पूर्वाधार विकास तथा सेवाको गुणस्तर अभिवृद्धिमा उपयोग गरिने जनाएको छ ।

उक्त सम्झौताले होटल पार्क ल्याण्ड लिमिटेडको पूँजी संरचना सुदृढ गर्न तथा सर्वसाधारण लगानीकर्तालाई पर्यटन तथा आतिथ्य क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।