नेपाल क्लियरिङ हाउसको १७औँ वार्षिकोत्सव सम्पन्न


काठमाडौँ
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा एनसिएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका कर्मचारी छवि सापकोटालाई हेड–पेमेन्ट सिस्टमलाई कम्पनीप्रतिको समर्पणका लागि दीर्घसेवा पदकबाट सम्मानित गरेको छ ।

यसैगरी, एनसिएचएलका पूर्वअध्यक्षद्वय अनिलकेशरी शाह र अशोकशमशेर जबरालाई एनसिएचएलको सञ्चालक समितिको स्थापक अध्यक्ष र तेस्रो अध्यक्षको रूपमा पु¥याएको योगदानको मूल्याकंन गर्दै डेपुटी गभर्नरमार्फत विशेष सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा एनसिएचएलले विभिन्न इनोभेटिभ डिजिटल प्रोडक्ट तथा सोलुसनहरूको अनावरण पनि गरेको छ। कार्यक्रममा सिद्धार्थ बैंक लिमिटेडसँगको सहकार्यमा रिटेल ग्राहकहरूका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंक लिमिटेडसँगको सहकार्यमा कर्पोरेट पे २.०, माछापुच्छ्रे बैंक लिमिटेडसँगको सहकार्यमा कार्डस् सेन्ट्रल सिस्टम तथा स्मार्ट च्वाइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टिज् नेट सेटलमेन्ट सार्वजनिक गरिएका हुन्।

एनसिएचएलले वार्षिकोत्सवका अवसरमा १३ वटा विधामा बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैरबैंक संस्थालाई एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सनबाट सम्मानित गरेको छ ।