काठमाडौं ।
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरूमा परेका बीमा दाबीमध्ये हालसम्म ५ अर्ब १८ करोड रुपियाँ भुक्तानी गरिएको छ । कुल ३ हजार ३०३ वटा बीमा दाबीबाट करिब २३ अर्ब ४५ करोड रुपियाँ बराबरको दाबी परेको थियो ।
नेपाल बीमा प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले बुझाएको अद्यावधिक तथ्याङ्कअनुसार अग्रिम भुक्तानीसमेत गरी उक्त रकम बीमितहरूलाई भुक्तानी गरिएको हो ।
क्षेत्रगत रूपमा हेर्दा, सम्पत्ति बीमातर्फ ७१० वटा दाबीबाट करिब १९ अर्ब २ करोड रुपियाँ दाबी परेकोमा हालसम्म करिब ३ अर्ब ८२ करोड रुपियाँ भुक्तानी भएको छ । मोटर बीमातर्फ २ हजार ३११ वटा दाबीबाट करिब ३ अर्ब ४७ करोड रुपियाँ दाबी परेकोमा करिब १ अर्ब २२ करोड रुपियाँ भुक्तानी गरिएको छ ।
यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा दाबीबाट करिब ५५ करोड ४७ लाख रुपियाँ दाबी परेकामा करिब ७ करोड ५० लाख रुपियाँ भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपियाँमध्ये करिब १ करोड ५५ लाख रुपियाँ भुक्तानी गरिएको छ ।
अन्य बीमातर्फ ४५ वटा दाबीबाट करिब ३८ करोड ४० लाख रुपियाँ दाबी परेकामा करिब ५ करोड ५० लाख रुपियाँ अग्रिम भुक्तानीसमेत गरी भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । यस्तै नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसमेत गरी करिब ३ अर्ब २ करोड रुपियाँ पुनर्बीमा दाबी भुक्तानी गरिसकेको छ । नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेको २ हजार ८६२ वटा पुनर्बीमा दाबीको कुल दाबी रकम करिब १६ अर्ब ६२ करोड रुपियाँ रहेको अद्यावधिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया