नेपाली झन्डा जापानी किकबक्सिङ रिंगमा फहराउँदै “हिमालयन चीता” किकबक्सर घिमिरे

0
Shares

जापानको किकबक्सिङ रिंगमा नेपाली झन्डा फहराउँदै, ‘हिमालयन चीता’ उपनामले परिचित अविरल घिमिरेले आफ्नो असाधारण क्षमता र अदम्य साहसको छाप छोडेका छन् । काठमाडौंको गुर्जुधाराको सामान्य परिवेशबाट विश्वव्यापी किकबक्सिङको भव्य मञ्चमा पुगेका अविरलको यात्रा कुनै प्रेरणादायी गाथाभन्दा कम छैन । ९ सेप्टेम्बर १९९९ मा जन्मेका अविरल त्यस्तो परिवारमा हुर्किए जसको किकबक्सिङ खेलसँग गहिरो सम्बन्ध रहेको छ । उनका पिता देव कुमार घिमिरे, स्वयं आफ्नो समयका एक अनुभवी किकबक्सिङ खेलाडी थिए, जसले सन २००४ मा सिओलमा भएको के–वान वल्र्ड जीपीमा प्रतिस्पर्धा गरेका थिए । पिताको खेलप्रतिको गहिरो मोह अविरल भित्र पनि प्रज्वलित हुन थाल्यो र यसले उनलाई रिंगमा उभिएर आफ्ना पिताका पदचिह्न पछ्याउन प्रेरित ग¥यो ।

पारिवारिक विरासतको बलियो आधारमा टेकेर सन् २०१६ मा १७ वर्षको कलिलो उमेरमै अविरलले किकबक्सिङलाई जीवनको अभिन्न हिस्सा बनाउन जापान जाने साहसिक निर्णय गरे । जापान, जहाँ मार्शल आट्र्सलाई केवल एउटा खेल मात्र नभई एक जीवनशैली र अस्तित्वको रुपमा पनि लिइन्छ । अविरलका लागि त्यो अपरिचित देश भाषा र सांस्कृतिक भिन्नताको चुनौतीले भरिएको थियो । तर, पिताको विरासतलाई निरन्तरता दिने र नेपालीका लागि आफ्नै पहिचान स्थापित गर्ने उनको भित्री चाहना ती सबै चुनौतीभन्दा धेरै बलियो थियो । व्यावसायिक किकबक्सिङको संसारमा उनको प्रवेश कुनै संयोग मात्रै थिएन, यो एक पूर्वनिर्धारित गन्तव्य थियो । पिताको प्रभाव उनको मस्तिष्कमा ताजै थियो, त्यसैले उनले आफ्नो रिंग नाम “हिमालयन चीता” राखे।

यो नामले केवल चीताको असाधारण गति र आक्रामकतालाई मात्र सम्मान गर्दैन, यसले लडाकुको खेलप्रतिको निष्ठा र तीव्र समर्पणको प्रतीक पनि प्रतिनिधित्व गर्छ । जुन नामलाई अविरलले आफ्नो प्रदर्शनले पूर्ण न्याय दिलाएको छ । उनको व्यावसायिक फाइट डेब्यु सन २०१७ को २३ डिसेम्बरमा हिट ४१ मा नेगी माजिनसँग भयो । सुरुबाटै अविरलले आफ्नो ‘किलर’ इन्स्टिंक्ट प्रदर्शन गरे र पहिलो राउन्डमै नकआउट जित हासिल गरेर धमाकेदार सुरुवात गरे । उनले अर्को वर्ष लाडा र पान सू किममाथि जित हासिल गर्दै हिट ४३ मिडलवेट टूर्नामेन्टमा स्थान बनाए । त्यसपछिका वर्षहरुमा निखारिएका उनले जितलाई निरन्तरता दिन थाले र ‘हिमालयन चीता’ चुस्त र निर्णायक रूपमा फाइट समाप्त गर्ने क्षमताका लागि परिचित भए ।

सन् २०२० सम्म आइपुग्दा, अविरल मिडलवेट डिभिजनका एक सशक्त खेलाडी बनिसकेका थिए । हिट किकबक्सिङ मिडलवेट च्याम्पियन बनेर उनले सेप्टेम्बर २०२० मा तात्सुयाविरुद्ध आफ्नो उपाधि सफलतापूर्वक रक्षा गर्न सफल भए । तर, अविरलको यात्रामा अवरोधहरू पनि आए । सन् २०२० मा के–वान सुपर–वेल्टरवेट च्याम्पियन मिनोरू किमुरासँगको हार उनका लागि एउटा तीतो पाठ बन्यो । यद्यपि, ‘हिमालयन चीता’ को आत्मविश्वास भने कहिल्यै कमजोर भएन, बरु हारले उनलाई अघि बढ्नका लागि इन्धनको काम ग¥यो ।

सन् २०२४ मा उनले आफ्नो प्रतिद्वन्दीलाई नकआउट आधारमा हराउँदै आईएसकेए के–वान इन्टरकन्टिनेन्टल सुपर वेल्टर वेट उपाधिमाथि कब्जा जमाए । यो स्तरको सफलता केवल सुरुवात मात्र थियो । सन् २०२५ मा उनले किकबक्सिङको विश्वकै प्रतिष्ठित क्रुशको मञ्चमा उक्लेर क्रुश सुपर वेल्टरवेट –७० केजी च्याम्पियनसिप पनि जिते । उनले दोस्रो राउन्डमा जिन्कु ओडालाई नकआउट गरेर उक्त उपाधि हात पारे । जसले उनको करियरमा अर्को महत्वपूर्ण कोशेढुङ्गा थप्यो । के–वानको संसारमा अझ ठूलो चुनौतीहरूको लागि उनको तयारी जारी नै छ । हालसम्म जितेका १९ फाइटमध्ये १८ मा उनले प्रतिद्वन्दीलाई नकआउटको आधारमा हराएका छन, जसले उनलाई विशेष पहिचान दिलाएको छ ।

अविरलको कथा केवल फाइटको श्रृंखलामा मात्र सीमित छैन । अविरल एक यस्तो नाम हो जुन मार्सल आट्र्स खेलमा लाग्ने जो कोहीको लागि प्रेरणा बनिरहेको छ । यो एक प्रकारको अनुशासन र राष्ट्रलाई गर्व दिलाउने जूनूनले सु–सज्जित यथार्थ पनि हो । हरेक नकआउट र हरेक उपाधिमार्फत अविरलले प्रमाणित गरेका छन कि उनको भविष्य आफ्नै दृढ संकल्पले निर्माण भएको हो भनेर । उनले खेलेका प्रत्येक फाइटमा नेपाली राष्ट्रिय झन्डा फहराउने गर्छन । यसले जापानको किकबक्सिङ मञ्चमा नेपालको प्रतिष्ठा उँचो पार्ने एक सच्चा नायक रुपमा समेत उनले आफूलाई उभ्याएका छन ।