एक पटक घुम्नै पर्ने ठाउँ चित्लाङ

0
Shares

लिच्छिबी काल, मल्ल काल र राणाकालपछि २०१२ सालसम्म निकै भीडभाड रहने यो ठाउँ बीचमा सुनसानसँगैं फेरि चहलपहल बढ्न थालेको छ । त्यो ऐतिहासिक ठाउँ हो, चित्लाङ । जुन मकवानपुर जिल्लामा पर्दछ । काठमाडौंबाट चित्लाङ पुग्न करिब २७.७ किमी पार गर्नु पर्दछ । यदि, जाममा नपरेमा गाडीबाट छिटै पुग्न पनि सकिन्छ ।

साविकको चित्लाङ गाउँ हाल थाहा नगरपालिका ९ र १० मा रहेको छ । त्रिभुवन राजमार्ग सञ्चालनमा आएपछि चित्लाङ सुनसान बनेको थियो । यसले गर्दा लामो समयसम्म एकान्तवासमा बसेको बस्ती जस्तो हुन पुग्यो ।

चित्लाङ काठमाडौं उपत्यका आउने प्रवेशद्वार थियो । जब, त्रिभुवन राजमार्ग बन्यो त्यसपछि मात्रै काठमाडौं उपत्यका प्रवेश गर्न अर्को बाटो चलनचल्तीमा आएको थियो । यसले गर्दा चित्लाङ सुनसान बन्न पुगेको थियो । अहिले भने चित्लाङ पहिले जस्तै रमझम भएको स्थानीयहरू बताउँछन् ।
चित्लाङको पुरानो नाम चित्रापुर थियो । यस्तै, यसलाई चैत्यलोङ पनि भन्ने गरिन्थ्यो । पछि अपभ्रंस भएर यसको नाम चित्लाङ हुन गएको पनि भनिन्छ । चित्लाङ अर्थ यसरी प्रष्टयाएको छ कि चित भनेको चेतना र लाङ भनेको सुन्दर ठाउँ वा बगैँचा ।

चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा रहेको छ । अहिले यहाँ केवलकार राखिएपछि चन्द्रागिरि जानेको घुँइचो पनि पछिल्लो समयदेखि बढ्दै आएको छ । पछिल्लो समयमा कतिपय विद्यालयहरूले पनि आफ्ना विद्यार्थीहरूलाई चित्लाङ लाने गरेको पाइएको छ ।

नेपालका धेरै शासन र शासकहरूको साक्षी भएकोले चित्लाङ लिच्छिवीदेखिको प्रमाण मानिन्छ । इतिहासकारका अनुसार तराई जान चित्लाङ बाटो भएर जानुपर्दछ । मल्लकालिन राजाहरू र राणा प्रधानमन्त्रीहरू र सर्वसाधारणहरू चित्लाङकै बाटो भएर काठमाडौं र तराई ओहोरदोहोर गर्दथे । रात परेमा चित्लाङमै पनि बास बस्ने गर्दथे ।

इतिहासकारको भनाईअनुसार प्रधानमन्त्री चन्द्र शमशेरले शिकार खेल्न जाँदा निर्माण गराएका पाहुना घर र दरबारहरू पनि चित्लाङमा देख्न सकिन्छ । तर, यी भग्नावेशको अवस्थामा रहेका छन् । यस्तै सम्राट अशोकले चित्लाङमा चैत्य पनि निर्माण गराएका थिए । यो पनि अहिले संरक्षणको पर्खाइमा रहेको पाइएको छ ।
चित्लाङमा भीमसेन मन्दिर, अशोक चैत्य, ढुंगेधारा जस्ता सम्पदा र संस्कृतिका साथै अहिले रिसोर्ट र होटलहरू पनि खोलिने क्रम बढ्दो छ । यसले गर्दा पर्यटकहरूको भीड पनि हुने गरेको छ । पर्यटक, धार्मिक र संस्केतिको दृष्टिले अहिले चित्लाङ एकचोटि घुम्नै पर्ने ठाउँ बनिसकेको छ ।

यति मात्रै होइन, पर्यटकहरूका लागि हाइकिङ गर्ने ठाउँको रुपमा समेत चित्लाङ लोकप्रिय भइरहेको छ । यस्तै, जंगल सफारी, पुरानो गाउँघरको झलक, रहनसहन अवलोकन गर्न पनि चित्लाङमा पर्यटक आइरहेको त्यहाँका स्थानीयले बताएका छन् ।

अहिले त्यहाँ रहेको इन्द्र सरोबर ताल (कुलेखानी ड्याम) मा डुंगा सयर पनि गर्न पाइन्छ । भनिन्छ यो नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो । यस तालमा डुंगा चलाउन दिँदा देशी तथा विदेशी पर्यटकहरू आकर्षित भएका छन् । त्यसो त ताल देख्नमै मनमोहक छ ।