हेटौंडा ।
नेपाल सरकारले पहिलो पटक विदेशलाई उपहार दिने घोषणा गरेका दुई हात्तीलाई नुहाइधुवाइ गरी खादा र मालासहित बिदाइ गरिएको छ ।

कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई चितवनबाट बिदाइ गरिएको हो । नेपालले अन्य विभिन्न मुलुकलाई गैंडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलो पटक हो ।
खगेन्द्रप्रसाद र रुद्रकलीलाई सोमबार माला र खादा लगाएर बिदा गरिएको छ । ती दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका हुन् । ती हात्तीहरूलाई कतारको अलखोर चिडियाखानामा पठाइनेछ । उनीहरू अब आप्mनो बथान छाडेर सुटुक्क नौलो भूमिमा जाने तयारीमा छन् ।
पठाउन लागिएकामध्ये खगेन्द्रप्रसाद भनिने भाले हात्ती र रुद्रकली भनिने पोथी हात्ती हुन् । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेका दुवै हात्ती त्यहीँ हुर्काइएका हुन् । १ हजार ५ सय किलो तौलको रुद्रकली ७ वर्ष २ महिना उमेरको छ भने १ हजार ६ सय किलो तौलको खगेन्द्रप्रसाद ६ वर्ष १ महिना उमेरको छ । रुद्रकली निकुञ्जको हात्ती पूजाकलीको र खगेन्द्रप्रसाद कोशीकली हात्तीका सन्तान हुन् । तर, दुवैका पिता भने जंगली भाले हात्ती हुन् ।
दुवै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याएर त्यहाँबाट बुधबार कतार एयरवेजको चार्टर्ड विमानबाट खोरसहित चढाएर कतार लगिने बताइएको छ । हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानीसमेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो । बुधबार विहान भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्तीहरू हस्तान्तरण गर्ने जनाइएको छ ।
हात्ती लोपोन्मुख वन्यजन्तुअन्तर्गत पर्ने भएकाले यस्ता वन्यजन्तुको ओसारपसार गर्दा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) पालना गर्नुपर्दछ । यी सबै प्रक्रिया पूरा गरेर हात्ती पठाउन लागिएको निकुञ्जले जानकारी दिएको छ ।
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो । नेपालले साइटिसलगायत प्रक्रिया पूरा गरी २०८१ कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेको थियो । त्यही बेला कतार पठाउनका लागि नेपालका तर्फबाट तयारी भए पनि कतारका तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाइएका कारण कतारका राजा शेखसँग हात्तीहरू लगिएको थिएन । किनकि, हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ । महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ ।
कतारमा हात्ती हुर्काउनका लागि हात्तीसँगै नेपालले एक जना भेटरिनरियन प्राविधिक र दुई जना माउतेसमेत एक महिनाका लागि पठाउन लागिएको छ । उनीहरू एक महिनामा हात्ती हुर्काउने तरिका सिकाएर फर्किनेछन् । निकुञ्जले रुद्रकलीका माहुते बुद्धि श्रेष्ठ र खगेन्द्रप्रसादका माहुते पाँचु खाँथारु तथा पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाललाई पनि कतार पठाउँदै छ ।
कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनबारे नेपालबाट प्राविधिक टोली यसअघि नै पुगेर स्थलगत अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिनुभयो । बिदाइ कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाललाई संसारसामु चिनाउन हात्ती उपहारले महत्वपूर्ण भूमिका खेल्ने भएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । ‘यो निकै संवेदनशील समय हो,’ उहाँले भन्नुभयो– ‘तर, निराश हुनुपर्ने अवस्था छैन ।’
नेपालमा घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती छन् । जंगली हात्ती ६५ वटाको हाराहारीमा रहेको अनुमान छ । सरकारले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत र जापानलगायत देशलाई २६ वटा गैंडा उपहार दिइसकेको छ ।











प्रतिक्रिया