सुकदेव कार्की, यो नेपाली नाम अहिले पावरलिफ्टिङको संसारमा केवल एक विजेताको रूपमा मात्र होइन, दृढ इच्छाशक्तिको प्रतीक र प्रेरणाको दीपस्तम्भका रूपमा गुञ्जिरहेको छ । सन् २०२५ नोभेम्बर ३० मा श्रीलंकामा सम्पन्न वल्र्ड पावरलिफ्टिङ च्याम्पियनशिपमा स्वर्ण पदक जित्नुले उनलाई नेपाली खेलकुदका सुपरस्टार मात्र बनाएको छैन, यसले सम्पूर्ण राष्ट्रलाई गर्व गर्न र आत्मविश्वासको नयाँ परिभाषा पनि सिकाएको छ । उनको यो असाधारण उपलब्धि सम्पूर्ण नेपालीका लागि एउटा अमूल्य विजय थियो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली झण्डालाई उँचाइमा पु¥याएको छ ।

३५ वर्षीय कार्कीको यो शिखर यात्रा केवल शक्ति र प्रदर्शनको कथा मात्र होइन । यो त असम्भवभन्दा पनि ठूलो मानवीय साहस र समर्पणको गाथा हो । दश वर्षअघि कार्की एक दुखद मोटरसाइकल दुर्घटनाको सिकार बनेका थिए । उक्त दुर्घटना यति भयानक थियो कि उनको शरीरका १८ वटा हड्डीहरू भाँचिएका थिए । त्यो अवस्था धेरैका लागि खेलकुद करियर मात्र होइन, जीवनकै अन्त्यको संकेत हुन्थ्यो । शारीरिक पीडा र मानसिक तनावले उनलाई सजिलै थला पार्न सक्थ्यो । तर, सुकदेवले त्यसलाई आफ्नो भाग्यका रूपमा स्वीकार गर्नुको सट्टा चुनौतीका रूपमा लिए । उनले हिम्मत नगुमाई, महिनौँको कठोर पुनस्र्थापना (रिह्याबिलेसन) र लगनशील प्रशिक्षणको यात्रामा आफूलाई होमे ।
दश वर्षको अथक संघर्ष र कठिन मेहनतपछि सुकदेवले अन्तर्राष्ट्रीय मञ्चमा स्वर्ण पदक जितेर आफ्नो क्षमतालाई प्रमाणित गरेरै छाडे । श्रीलंकामा २ सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धीहरूबीच उनले स्वर्ण पदक जितेर इतिहास रचे । स्टेजमा उनले गरेका हरेक लिफ्टले उनले स्वयंले मानेको असम्भवलाई सम्भव बनाएर देखाए । उनको जितले केवल खेलकुदको सीमित जगतमा मात्र नभई सम्पूर्ण राष्ट्रमा एक नयाँ आशा र प्रेरणा सञ्चार गरेको छ । उनले सबैलाई सिकाएको कुरा भनेको “कहिले हार नमान्नु” हो । यदि आत्मविश्वास र साँचो समर्पणका साथ अघि बढिन्छ भने संसारका सबैभन्दा कठिन चुनौतीहरूलाई पनि पार गर्न सकिन्छ भनेर उनले प्रमाणित गरेका छन ।

देशको लागि गौरवपूर्ण स्वर्ण पदक दिलाउँदा पनि उनले अहिलेसम्म आफ्नो सम्पूर्ण खेलकुद यात्रा व्यक्तिगत खर्चमार्फत नै धानेका छन् । जसले नेपाली खेलकुदमा राज्यको प्रोत्साहनको अभावलाई स्पष्ट पार्छ । गोकर्णेश्वर–६, काठमाडौंका स्थायी बासिन्दा कार्कीको करियर बडीबिल्डिङ र पावरलिफ्टिङ दुवै खेलमा उल्लेख्य सफलताले भरिएको छ । बडीबिल्डिङतर्फ उनले सन् २०१७ मा ६० किलोग्राम मुनिको मिस्टर हिमालय र मिस्टर नेपाल गरी दुवैमा दोस्रो स्थान तथा सन् २०१९ मा इन्टरनेशनल मेन्स फिजिक्समा दोस्रो स्थान हासिल गरेका थिए । पावरलिफ्टिङमा भने उनको वर्चस्व स्पष्ट देखिन्छ । जहाँ उनले सन् २०१७ देखि २०२२ सम्म थुप्रै प्रथम स्थान सहित उपाधिहरू जितेका छन् ।

एथ्लीटको रूपमा मात्र नभई सुकदेव फिटनेस शिक्षाको क्षेत्रमा पनि एक अग्रणी व्यक्तित्व हुन् । उनले सन् २०१९ मा अमेरिकन काउन्सिल अन एक्सरसाइज (एसीई) बाट प्रमाणित पर्सनल ट्रेनर र क्रसफिट एल१ ट्रेनर तथा सन् २०२१ मा नेशनल स्ट्रेन्थ एन्ड कन्डिसनिङ एसोसिएसन (एनएससीए) बाट स्ट्रेन्थ एन्ड कन्डिसनिङ विशेषज्ञको उपाधि हासिल गरेका छन । उनले विगत १० वर्षदेखि नेपाल युथ फिटनेस एकेडेमी र एनवाईएफसी गियर्स प्रा.लि जस्ता संस्थाहरू स्थापना गरी सञ्चालन गरिरहेका छन । उनको मुख्य उद्देश्य नेपालमा दक्ष जनशक्तिको साथ रोजगारी सिर्जना गर्नु र विश्वव्यापी अभ्यासहरू अनुरूप पेशेवर सेवाहरूको स्तर बढाएर नेपालमा फिटनेस क्रान्ति ल्याउनु रहेको छ । जब समर्पण साँचो हुन्छ, तब कुनै पनि चुनौती पार गर्न सकिन्छ भन्ने सन्देश दिने सुकदेवको जीवन यात्रा केवल पावरलिफ्टिङको कथा मात्र होइन, कसरी मानिसको दृढ इच्छाशक्ति र निरन्तरको संघर्षले असम्भवलाई सम्भव बनाउँछ भन्ने एउटा यथार्थ पनि हो ।











प्रतिक्रिया